काठमाडौं, २६ असोज। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ।>
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी आवागमन बन्द गरिने जानकारी दिएकी छन्।>
गत असोज २३ गते सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि सडक सञ्चालनमा ल्याइएको थियो। थप मर्मतसम्भार गर्नुपर्ने भएपछि राजमार्ग पुनः बन्द गर्न लागिएको हो।>
दसैँ नजिकिँदै गर्दा देशको प्रमुख राजमार्गमा सवारी आवागमन बन्द हुने भएपछि काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रु प्रभावित हुने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गरेका यात्रुलाई राजमार्ग बन्द हुँदा समस्या हुने बताएका छन्।>
‘दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,’ उनले भने।>
दसैँ मनाउन काठमाडौं छाड्ने यात्रुको सङ्ख्या पनि बढिरहेको छ। लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म काठमाडौंको नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्।>
राजमार्ग मर्मतका लागि तोकिएको समयमा सवारी आवागमन बन्द गरिने भएकाले यात्रुले आफ्नो यात्रा तालिका सोहीअनुसार मिलाउनुपर्ने देखिएको छ। विशेषगरी रातिको समयमा गलौँदी क्षेत्र हुँदै यात्रा गर्ने यात्रुले प्रस्थान गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनु उपयुक्त हुनेछ।>
>>