काठमाडौँ, २ कात्तिक। बडादसैँका अवसरमा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।>
दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।>
सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त सेवा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुनेछ।>
सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्रका यात्रुलाई सेवा दिनेछ।>
त्यस्तै, प्रधान कार्यालयबाटै छुट्ने दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कलगायत क्षेत्रका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।>
दसैँका बेला सार्वजनिक यातायातको अभावमा आवतजावत गर्न कठिनाइ हुने सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको यस सेवाबाट उपत्यकाभित्र यात्रा गर्ने नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।>
>>