काठमाडौं — साइबर ब्युरोबाट रिहा भएका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आफू रिहा भएपछि प्रेस जगतमा फेरि एकताको प्रदर्शन भएको प्रतिक्रिया दिएका छन्।>
श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गर्दै समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने मान्यता पुनः स्थापित भएको दाबी गरेका छन्।>
जग्गा हडपेको विषयसम्बन्धी समाचारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा साइबर ब्युरोले श्रेष्ठलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पन्तसँग केही घण्टा छलफल भएपछि उनलाई शनिबार साँझ रिहा गरिएको थियो।>
श्रेष्ठले आफ्नो यसअघिको गिरफ्तारीका क्रममा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेबापत पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश जारी गरेको उल्लेख गरेका छन्। अहिले पनि त्यही मान्यता स्थापित भएको उनको भनाइ छ।>
सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यसको निरूपणका लागि प्रेस काउन्सिलमा जानुपर्ने उल्लेख गर्दै श्रेष्ठले सञ्चारमाध्यमविरुद्धका गुनासोको छिनोफानो गर्ने निकाय साइबर ब्युरो नभएको बताएका छन्।>
‘अब हिमेश भाइ कुनै गुनासो भए प्रेस काउन्सिल जानुहुन्छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।>
आफूमाथि सामाजिक सञ्जालमार्फत व्यक्तिलक्षित टिप्पणी भएको तथ्य पन्तले स्वीकार गरेको दाबीसमेत श्रेष्ठले गरेका छन्।>
रिहा भएपछि उनले आफू बिहान घरबाट लगिएको र साँझ घर फर्किएको उल्लेख गर्दै लेखेका छन्, ‘प्रेस स्वतन्त्रता जिन्दावाद !’>
यस घटनाले सञ्चारमाध्यममा प्रकाशित सामग्रीसम्बन्धी विवाद, पत्रकारिताको स्वतन्त्रता र उजुरीको निरूपण गर्ने निकायको भूमिकाबारे पुनः बहस सुरु गराएको छ।>
>>