टोकियो। मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र धुलोका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने ऐतिहासिक अन्तरिक्ष अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ। यस अभियानबाट मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण वैज्ञानिक जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।>
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मङ्गल चन्द्रमा अन्वेषण (एमएमएक्स) अन्तरिक्षयानलाई एच–३ रकेटमार्फत तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी गरिएको छ। अभियानको निर्धारित प्रक्षेपण समय मङ्गलबार बिहान ४ः४१ बजे रहेको जनाइएको छ।>
योजना अनुसार अन्तरिक्षयान करिब एक वर्षपछि मङ्गल ग्रहको नजिक पुग्नेछ। त्यसपछि यसले फोबोसको तीन वर्षसम्म परिक्रमा गर्दै त्यहाँबाट कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्ने लक्ष्य राखेको छ।>
अभियानमा फ्रान्सेली हास्य पात्र एस्टेरिक्सको कुकुरको नामबाट ‘इडिफिक्स’ नाम दिइएको रोभर पनि सहभागी हुनेछ। उक्त रोभरले फोबोसको सतहको अवलोकन गरी नमूना सङ्कलनका लागि उपयुक्त स्थान पहिचान गर्न सहयोग गर्नेछ।>
एमएमएक्सका परियोजना प्रबन्धक यासुहिरो कावाकात्सुका अनुसार मङ्गल ग्रह प्रणालीबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने यो विश्वकै पहिलो अभियान हुनेछ। यसले भविष्यमा मङ्गल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि विकास गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।>
अन्तरिक्षयानले मङ्गल ग्रहको अर्को चन्द्रमा डिमोसको पनि अवलोकन गर्नेछ। वैज्ञानिकहरूले फोबोस र डिमोस कसरी बने भन्ने विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका छन्। यी चन्द्रमा मङ्गल ग्रहसँग अर्को खगोलीय पिण्ड ठोक्किएपछि बनेका हुन् वा मङ्गलको गुरुत्वाकर्षणले क्षुद्रग्रहलाई आफ्नो कक्षमा तानेपछि बनेका हुन् भन्ने प्रश्नको उत्तर खोज्नु अभियानको प्रमुख उद्देश्य हो।>
अभियानबाट प्राप्त नमूनाले चट्टानी ग्रहहरूमा जीवन अनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्नसमेत मद्दत गर्न सक्छ। अभियानमा सहभागी फ्रान्सेली खगोलशास्त्री प्याट्रिक मिशेलका अनुसार फोबोसबाट प्राप्त नमूनाले पानी र जैविक पदार्थ सौर्यमण्डलका ग्रहहरूमा कसरी पुगे भन्नेबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ।>
यस अभियानमा फ्रान्स, जर्मनी, अमेरिका तथा युरोपका अन्तरिक्ष निकायसहित करिब २० विश्वविद्यालय र प्रविधि कम्पनी सहभागी छन्।>
जापानले यसअघि सन् २०२० मा हायाबुसा–२ अभियानमार्फत क्षुद्रग्रहबाट ५.४ ग्राम चट्टान र धुलो पृथ्वीमा ल्याएको थियो। तर, यसपटक मङ्गल ग्रह प्रणालीबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्कनुपर्ने भएकाले अभियान थप चुनौतीपूर्ण मानिएको छ।>
यसैबीच, चीनले सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहको सतहबाट नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ।>
जापानी वैज्ञानिकहरूका अनुसार फोबोसबाट प्राप्त चट्टान र बालुवाले मङ्गल ग्रहको सतहबाट प्रत्यक्ष सङ्कलन गरिएका नमूनाभन्दा फरक वैज्ञानिक जानकारी दिन सक्छन्। यसले मङ्गल ग्रहको विकासक्रम र सौर्यमण्डलको इतिहास बुझ्न नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।>
>>