काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि प्रयास गरिरहेका मध्यस्थहरूसँग अमेरिका सम्पर्कमा रहेको बताएका छन्।>
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि मध्यस्थकर्ताहरूको पहिचान भने खुलाएनन्। उनीहरूसँग भइरहेको वार्ताबारे थप विवरण नदिए पनि पर्दापछाडि सम्पर्क कायम रहेको संकेत उनले गरेका छन्।>
ट्रम्पले अमेरिकाले युद्धमा चाँडै जित हासिल गर्ने दाबीसमेत गरे। “जहाँसम्म मेरो कुरा छ, हामी जित्नेछौँ। यो विषय निकै तीव्र गतिमा अघि बढ्नेछ,” उनले भने।>
उनले युद्धमा अमेरिकाको जितपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दाबी पनि दोहोर्याए। यसबाट अमेरिकी उपभोक्तालाई राहत पुग्नुका साथै ऊर्जा लागत घट्ने उनको भनाइ छ।>
इरानसँगको द्वन्द्वका कारण क्षेत्रीय तनाव कायम रहेका बेला तथा युद्ध अन्त्यका लागि विभिन्न पक्षबाट कूटनीतिक पहल भइरहेका समयमा ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको हो।>
यद्यपि, युद्ध अन्त्यका लागि सम्पर्कमा रहेका मध्यस्थ को हुन् र उनीहरूसँग कस्तो स्तरमा वार्ता भइरहेको छ भन्नेबारे ट्रम्पले स्पष्ट जानकारी दिएका छैनन्।>
>>