१५ भदौ, काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा कार्यालयमा करिब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ।>
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न १२ वटा बैंकका १६ वटा शाखा कार्यालय सञ्चालनमा थिए। तीमध्ये १५ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा शाखा कार्यालयमा आंशिक क्षति पुगेको छ।>
संघका अनुसार प्रभावित बैंकका शाखाहरूमा कुल ७८ हजार २०४ जना निक्षेपकर्ता रहेका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका ९ वटा एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद थियो। यस्तै, बैंकका क्यास भल्टमा १७ करोड २४ लाख रुपैयाँ र नगद काउन्टरमा १ करोड १७ लाख रुपैयाँ रहेको थियो।>
तर, बैंकको भल्ट, काउन्टर र एटीएममा रहेको नगदको बीमा हुने भएकाले उक्त रकमलाई बैंकहरूको प्रत्यक्ष भौतिक क्षतिमा समावेश नगरिएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।>
‘बैंकका शाखा कार्यालयको भौतिक नोक्सानी नगदबाहेक करिब ६० करोड रुपैयाँ बराबर भएको देखिन्छ,’ शर्माले भने, ‘सो क्षेत्रमा बैंकहरूले लगानी गरेको कर्जामा भने फरक खालको जोखिम निम्तिएको छ। सोही क्षेत्रको जग्गा धितोमा राखेर कर्जा दिइएको अवस्था छ। अब बैंकहरूको धितोसमेत नरहेको अवस्था बनेको छ।’>
बाढी प्रभावित बैंकका शाखाहरूमा कुल २ हजार १२५ जना ऋणी रहेको संघले जनाएको छ। ती शाखामार्फत बैंकहरूले २ अर्ब ४३ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन्। उक्त कर्जा जलविद्युत् क्षेत्रमा गरिएको लगानीबाहेकको हो।>
त्यसैगरी, प्रभावित शाखाहरूमा कुल ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको संघले जनाएको छ।>
कृषि विकास बैंकको सबैभन्दा ठूलो क्षति
बाढीबाट प्रभावित बैंकमध्ये कृषि विकास बैंकमा सबैभन्दा ठूलो क्षति पुगेको छ। बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।>
उक्त शाखामा बैंकका ग्राहकले प्रयोग गरिरहेका ६४ वटा लकर बक्ससमेत थिए। बाढीका कारण ती लकरमा रहेका ग्राहकका सम्पत्तिमा पनि क्षति पुगेको छ।>
लकरमा राखिएका सामानको बैंकमार्फत बीमा नहुने भएकाले त्यसबाट भएको क्षति लकर प्रयोगकर्ता ग्राहकको व्यक्तिगत नोक्सानीका रूपमा रहनेछ। साथै, लकरमा ग्राहकले के–कस्ता सामग्री राखेका थिए भन्ने जानकारी बैंकलाई नहुने भएकाले त्यसलाई बैंकको क्षतिको विवरणमा समावेश गरिएको छैन।>
तर, सुन धितो राखेर लिइएको कर्जाको हकमा भने धितोमा रहेको सुनको बीमा गरिएको हुन्छ। यस्तो धितोमा रहेको सुनको क्षतिलाई समेत बैंकहरूले आफ्नो प्रत्यक्ष क्षतिको विवरणमा समावेश गरेका छैनन्।>
१२ बैंकका शाखा प्रभावित
बाढीका कारण कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र सानिमा बैंकका एक–एक वटा शाखा कार्यालयमा क्षति पुगेको छ।>
त्यसैगरी, प्रभु बैंकका दुई वटा शाखा तथा एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका तीन–तीन वटा शाखा कार्यालयमा क्षति पुगेको संघले जनाएको छ।>
प्रभावित क्षेत्रमा रहेका ८ वटा एटीएम काउन्टरसमेत बाढीबाट क्षतिग्रस्त भएका छन्। संघका अनुसार अधिकांश एटीएम काउन्टरमा क्षति पुगेको छ।>
२६ बैंक कर्मचारी अझै सम्पर्कविहीन
यसैबीच, बाढी प्रभावित क्षेत्रमा कार्यरत विभिन्न बैंकका २६ जना कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्।>
बाढीका कारण धेरै बैंकका शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि ती शाखामा कार्यरत कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको संघले जनाएको छ।>
>>