इनरुवा। कप्तानगञ्ज घटनालाई लिएर हिन्दु सम्राट सेनाले प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै सुनसरी बन्दको चेतावनी दिएपछि तनावग्रस्त क्षेत्रमा थप अशान्ति फैलिने जोखिम बढेको छ।>
हिन्दु सम्राट सेना सुनसरीका संयोजक बाबा सिंह हिन्दुले घटनामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गर्दै माग पूरा नभए इनरुवासहित सुनसरीका विभिन्न स्थान बन्द गर्ने चेतावनी दिएका छन्।>
सिंहले प्रमुख जिल्ला अधिकारीलाई लक्षित गर्दै आफूहरू अहिले ‘निन्द्रामा’ रहेको र आन्दोलनको ‘ट्रेलर’ मात्र सुरु भएको अभिव्यक्ति दिएका छन्। यस्तो अभिव्यक्तिले प्रशासनमाथि दबाब मात्र होइन, घटनापछि संवेदनशील बनेको सामाजिक वातावरणलाई थप उत्तेजित बनाउने खतरा बढाएको छ।>
कानुनी कारबाहीको माग गर्नु नागरिकको अधिकार भए पनि बन्द, धम्की र उत्तेजक अभिव्यक्तिमार्फत प्रशासनलाई दबाबमा पार्ने प्रयासले समस्या समाधानभन्दा झन् जटिल परिस्थिति निम्त्याउन सक्ने देखिन्छ। विशेषगरी समुदायबीच अविश्वास बढिरहेको अवस्थामा यस्ता गतिविधिले सामान्य नागरिकको सुरक्षा र दैनिक जनजीवनमा प्रत्यक्ष असर पार्न सक्छ।>
कप्तानगञ्ज घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्नु राज्यको जिम्मेवारी हो। तर अनुसन्धान र न्यायको नाममा सडक बन्द, धम्की र सम्भावित अराजकताको बाटो रोज्नुले घटनाको समाधानभन्दा तनाव थप चर्काउने खतरा रहन्छ।>
अब प्रशासनसामु दुई चुनौती देखिएका छन्—घटनाको निष्पक्ष छानबिनमार्फत दोषीमाथि कारबाही गर्ने र त्यसै बहानामा उत्पन्न हुन सक्ने उत्तेजना तथा सम्भावित अराजकतालाई नियन्त्रण गर्ने।>>