सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।>
अरुण नदीमा पानीको बहाव बढेपछि आयोजनाको निर्माण कार्य प्रभावित भएको हो। निर्माणाधीन क्षेत्रमा नदीको पानीको बहाव बढ्दा डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको सुरुङबाट पानी पूर्ण रूपमा निकास हुन नसकेपछि अस्थायी ड्याममाथिबाट पानी बगेको जनाइएको छ।>
पानी स्थायी ड्याम निर्माण भइरहेको क्षेत्रमा प्रवेश गर्न थालेपछि तत्कालका लागि ड्याम निर्माणको काम रोकिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।>
उनका अनुसार हाल आयोजनास्थलमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको पानीको सतह ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण मानिने जनाइएको छ।>
आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावबारे प्रहरीले निरन्तर निगरानी गरिरहेको जनाएको छ।>
नदीमा पानीको बहाव बढेपछि ड्याम निर्माण कार्य प्रभावित भएको हो। यसैबीच, निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।>
वर्षाको गतिविधि बढ्दै जाने तथा जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।>
>>