मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राष्ट्रिय समाचार १२ भाद्र २०८३, शुक्रबार

प्रधानमन्त्री बालेन शाहको दाबी– उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्छ

Nepal Akhbar
भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार भएको प्रधानमन्त्रीको जानकारी

काठमाडौं —

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत र पुनःस्थापनासम्बन्धी प्रगति विवरण सार्वजनिक गर्दै विपद्बाट प्रभावित प्रत्येक परिवारसँग राज्य रहेको बताएका हुन्।

‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

उनका अनुसार हालसम्म प्रभावित क्षेत्रमा १५ हजार ४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ तथा सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन्।

प्रधानमन्त्री शाहले हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये जलविद्युत् आयोजनाका सुरुङबाट १९१ जना तथा हवाई उद्धारमार्फत ५१७ जना रहेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर शटल फ्लाइट सञ्चालन भइरहेको र हालसम्म ९९ वटा हवाई उडान गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

खोज तथा राहत कार्य विस्तार

प्रधानमन्त्री शाहका अनुसार खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म विस्तार गरिएको छ। त्रिशूली–नारायणी नदी करिडोरका विभिन्न क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी कार्य जारी राखिएको छ।

उद्धारसँगै राहत सामग्री पनि प्रभावित क्षेत्रमा पठाइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री तथा हेलिकप्टरमार्फत थप राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको जनाइएको छ।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई समेत उच्च प्राथमिकतामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्। अपर त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको उनको भनाइ छ।

विदेशी नागरिकको खोज तथा उद्धारमा समन्वय

प्रधानमन्त्रीका अनुसार हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको छ। उनीहरूको खोज, उद्धार तथा परिवारसँग सम्पर्कका लागि परराष्ट्र मन्त्रालयले दूतावास तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचारसमेत भ्रामक रहेको प्रधानमन्त्री शाहले बताएका छन्। भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीका विषयमा निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

पुनःबाढीको जोखिममा उच्च सतर्कता

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

सम्भावित जोखिम भएका क्षेत्रमा पूर्वसूचना प्रणाली सक्रिय गरिएको तथा आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको जनाइएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र २ लाखभन्दा बढी एसएमएस अलर्टमार्फत पूर्वसूचना दिइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

सडक, सञ्चार र विद्युत् सेवा पुनःस्थापनामा जोड

सरकारले प्रभावित क्षेत्रको सडक सम्पर्क पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई केही क्षेत्रमा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु गरिएको छ।

रसुवालाई पुनः सडक सञ्जालसँग जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको तथा क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको जनाइएको छ। नियमित सडक सम्पर्कका लागि आवश्यक बेली ब्रिज उपलब्ध गराउने विषयमा भारत तथा चीनसँग औपचारिक पहल गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

दूरसञ्चार सेवा पुनःस्थापनातर्फ पनि प्रगति भइरहेको जनाइएको छ। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा पुनः सञ्चालनमा आएको जानकारी दिइएको छ।

त्यस्तै, नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको र धुन्चेमा समेत विद्युत् आपूर्ति सुचारु गर्न आवश्यक काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

स्वास्थ्य तथा राहत व्यवस्थापन

स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ भने विभिन्न अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको तथा आवश्यक औषधि, स्वास्थ्य सामग्री र आपतकालीन उपचारका सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।

खानेपानी, इन्धन र सरसफाइ व्यवस्थापनका लागि पनि आवश्यक स्रोतसाधन परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्। प्रभावित क्षेत्रको सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार तथा जलविद्युत् संरचनाको विस्तृत क्षति मूल्यांकनका लागि विभिन्न प्राविधिक टोली परिचालन गरिएको छ।

राहत र पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन

प्रधानमन्त्री शाहका अनुसार बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको पनि उनले जानकारी दिएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत र पुनःस्थापना प्याकेज तयार गर्ने काम भइरहेको जनाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यवसाय तथा व्यक्तिलाई लक्षित गरी ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था पनि अघि बढाइएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको बताएका छन्।

उनले अन्त्यमा नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।

‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ।’


प्रतिक्रिया

सम्बन्धित समाचार