काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पदबाट हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। रुससँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न नसकेको आरोप लगाउँदै ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्ने समय आएको बताएका हुन्।>
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले शान्ति सम्झौता गर्न नसकेको दाबी गरे। उनले सम्झौतामा पुग्न सक्ने नयाँ नेतृत्व आवश्यक रहेको संकेत गरेका छन्।>
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दा विश्वव्यापी डिजेल आपूर्तिमा असर परेको ट्रम्पको आरोप छ। रुस विश्व बजारमा डिजेलको ठूलो आपूर्तिकर्ता भएकाले युक्रेनको सैन्य कारबाहीले अमेरिकी किसान तथा पशुपालकसमेत प्रभावित भएको उनको दाबी छ।>
यसैबीच, रुससँगको डिजेल आपूर्तिसम्बन्धी अमेरिकी निर्णयले वासिङ्टन र किएभबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। राष्ट्रपति जेलेन्स्कीले अमेरिकी कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप प्रोत्साहन मिलेको आरोप लगाएका छन्।>
जेलेन्स्कीका अनुसार रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध खुकुलो बनाइएको दिन रुसले जापोरेजियाका आवासीय भवनहरूमा पाँचवटा ग्लाइड बम प्रहार गरेको थियो। उक्त आक्रमणमा तीन बालबालिकासहित २० जनाको मृत्यु भएको उनको भनाइ छ। मृतकमध्ये ६ वर्षीया बालिका पनि रहेको बताइएको छ।>
चालू सातामा युक्रेनमा भएका विभिन्न रुसी आक्रमणमा करिब ८० जना सर्वसाधारणले ज्यान गुमाएको विवरण पनि सार्वजनिक भएको छ।>
रुससँगको डिजेल सम्झौता तथा प्रतिबन्धसम्बन्धी अमेरिकी निर्णयको अमेरिकाभित्रै आलोचना भएको छ। रिपब्लिकन सांसद डन बेकनले कंग्रेसले पारित गरेका प्रतिबन्ध हटाउनुको साटो तिनलाई अझ कडाइका साथ लागू गर्नुपर्ने बताएका छन्।>
विश्लेषकहरूका अनुसार रुसी तेल प्रशोधन केन्द्रहरूमा युक्रेनी आक्रमण जारी रहेमा रुसको निर्यात क्षमता प्रभावित हुन सक्छ। त्यसैले प्रतिबन्ध खुकुलो बनाउँदैमा इन्धनको मूल्य दीर्घकालीन रूपमा घट्ने सम्भावना सीमित रहेको उनीहरूको आकलन छ।>
यसैबीच, बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले जेलेन्स्कीसँग कुराकानी गर्दै रुसमाथि बेलायतले प्रतिबन्ध थप कडा पार्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।>
यसअघि मियामीमा युक्रेनी, युरोपेली र अमेरिकी वार्ताकारहरूबीच युद्ध अन्त्यका लागि साझा प्रस्ताव तयार पार्ने विषयमा छलफल भइरहेको थियो। वार्ता जारी रहेकै बेला ट्रम्पले डिजेलसम्बन्धी निर्णय घोषणा गरेपछि युक्रेनी प्रतिनिधिमण्डल आश्चर्यमा परेको बताइएको छ। मियामी वार्ता सकिएपछि युक्रेनी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।>
अर्कोतर्फ, पुटिनले ट्रम्पसँगको कुराकानीपछि मस्कोमा युक्रेनी ड्रोन आक्रमण जारी रहेको भन्दै तत्काल शान्ति वार्ता सम्भव नभएको बताएका छन्। यद्यपि, अमेरिकी वार्ताकार स्टिभ विटकफ र जारेड कुश्नर आगामी दुई साताभित्र मस्को भ्रमणमा जान सक्ने जनाइएको छ।>
ट्रम्पको पछिल्लो अभिव्यक्ति र रुससँगको इन्धनसम्बन्धी निर्णयले युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तथा अमेरिका–युक्रेन सम्बन्धमा थप अनिश्चितता सिर्जना गरेको छ।>
>>