जनकपुरधाम– खेतीको मुख्य समयमा नहरमार्फत खेतसम्म पानी पुग्न थालेपछि सप्तरीका किसान उत्साहित भएका छन्। लामो समयदेखि वर्षाको भरमा खेती गर्दै आएका किसानले यस वर्ष धान रोपाइँ तथा बाली हुर्काउने समयमा सिँचाइ सुविधा पाएपछि कृषि कार्य सहज भएको बताएका छन्।>
सप्तरीको डाक्नेश्वरी नगरपालिका–का किसान अशोक यादवका अनुसार समयमै वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने र रोपिसकेको धानमा समेत सिँचाइको समस्या हुने अवस्था थियो। तर नहरमा पानी सञ्चालन भएपछि किसानलाई ठूलो राहत मिलेको उनले बताए।>
सप्तरीमा कृषि प्रयोजनका लागि कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय, राजविराजअन्तर्गत तीनवटा सिँचाइ प्रणाली सञ्चालनमा छन्। चन्द्र नहर सिँचाइ प्रणाली, कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणालीमार्फत जिल्लाका विभिन्न क्षेत्रमा खेतसम्म पानी पुर्याइँदै आएको छ।>
कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार चन्द्र नहर सिँचाइ प्रणालीमा गत असार १० गतेदेखि पानी सञ्चालन गरिएको हो। त्यस्तै कोशी पम्प नहर र वितरण नहर सिँचाइ प्रणालीमार्फत साउन २१ गतेदेखि किसानका खेतमा पानी पुर्याउन थालिएको छ।>
खेतीको मुख्य समयमा नहर सञ्चालनमा आएपछि किसानलाई सहज भएको कार्यालय प्रमुख यादवले बताए। तीनवटै प्रणालीबाट नियमित रूपमा पानी वितरण गर्ने प्रयास भइरहेको उनको भनाइ छ।>
सिँचाइ सुविधा पाएसँगै वर्षामा निर्भर किसानलाई विशेष राहत पुगेको छ। कृषि उत्पादनका हिसाबले महत्वपूर्ण जिल्ला मानिने सप्तरीमा पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले हरेक वर्ष मौसमको अनिश्चिततामा निर्भर भएर खेती गर्नुपर्ने अवस्था रहँदै आएको छ।>
समयमै वर्षा नहुँदा धान रोपाइँ ढिला हुने, रोपाइँपछि खेतमा पानीको अभाव हुने र त्यसले उत्पादनमा समेत असर पार्ने समस्या किसानले भोग्दै आएका छन्। यस वर्ष नहरबाट समयमै पानी उपलब्ध भएकाले यस्ता समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।>
किसानका अनुसार धान रोपाइँका लागि आवश्यक समयमा खेतमा पर्याप्त पानी उपलब्ध हुँदा खेती गर्न सहज हुनुका साथै उत्पादन बढाउनसमेत सहयोग पुग्ने सम्भावना छ।>
नहर संरचना सुधारमा जोड
सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउन नहरको नियमित मर्मतसम्भार तथा संरचना सुधारलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।>
नहर जीर्ण हुँदा पानी चुहावट हुने, खेतसम्म पर्याप्त पानी नपुग्ने तथा विभिन्न स्थानमा नहर अवरुद्ध हुने समस्या देखिने गरेको कार्यालय प्रमुख यादवले बताए। यस्ता समस्या न्यूनीकरणका लागि नहर संरचना सुधारको काम अघि बढाइएको उनको भनाइ छ।>
आर्थिक वर्ष २०८२/८३ मा नहर प्रणालीको मर्मतसम्भार तथा सुधारअन्तर्गत एक हजार ४६५ मिटर पक्की नहर निर्माण गरिएको कार्यालयले जनाएको छ। यसबाट नहरको संरचना व्यवस्थित हुनुका साथै पानीको प्रवाहमा समेत सुधार आउने अपेक्षा गरिएको छ।>
त्यस्तै नहर प्रणालीअन्तर्गत १२ वटा भिआरबी (पुल) निर्माण गरिएको छ। यसले किसान तथा स्थानीय बासिन्दाको आवतजावत सहज बनाउनुका साथै नहरबाट पानीको नियमित प्रवाह कायम गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ।>
नहरको निरीक्षण, मर्मतसम्भार तथा सिँचाइ संरचनासम्म आवश्यक सामग्री पुर्याउन एक हजार ८५० मिटर सर्भिस रोड ग्राभेलिङसमेत गरिएको छ।>
गत आर्थिक वर्षमा दुईवटा ल्यान्डी साइफन निर्माण गर्नुका साथै नौ किलोमिटर नहर सरसफाइको काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ।>
नहरमा जमेको माटो, बालुवा तथा अन्य अवरोध हटाउँदा पानीको प्रवाह सहज हुने भएकाले नियमित रूपमा सरसफाइ गरिँदै आएको कार्यालय प्रमुख यादवले बताए।>
करिब ३५ हजार हेक्टरमा सिँचाइ सुविधा
कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालयअन्तर्गत सञ्चालित तीनवटै सिँचाइ प्रणालीबाट सप्तरीका विभिन्न क्षेत्रमा गरी ३४ हजार ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ।>
समयमै नहर सञ्चालन र संरचनाको सुधारसँगै नियमित पानी वितरण हुन सकेमा सप्तरीका किसानले धानलगायत कृषि उत्पादनमा थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ>
>>