पोखरा – बाढी तथा अन्य विपद्बाट प्रभावित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव मंगलबार व्यवस्थापन गरिएको छ।>
कास्की प्रहरीले दिएको जानकारीअनुसार धादिङ, तनहुँ, गोरखा र पूर्वी नवलपरासीबाट पोखरा ल्याइएका कुल १०२ शवमध्ये ७६ वटा शव व्यवस्थापन गरिएको हो।>
ती शव पोखरा–१६ स्थित सेती नहर छेउको वन क्षेत्रमा तोकिएको प्रक्रियाअनुसार तथा अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।>
विभिन्न जिल्लाबाट ल्याइएका शवमध्ये १९ वटा पहिचान भइसकेका छन्। पहिचान भएका शव सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ।>
त्यस्तै, ७ वटा शवको पोस्टमार्टम तथा डीएनए नमुना संकलनको प्रक्रिया पूरा हुन बाँकी रहेकाले ती शव अस्पतालमै राखिएका छन्।>
पहिचान प्रक्रिया नसकिँदा ७६ शव मात्रै व्यवस्थापन
सुरक्षा निकायले पहिचान भएका शवबाहेक बाँकी ८३ वटा शव व्यवस्थापन गर्ने तयारी गरेको थियो। तर केही शव पहिचानको प्रक्रियामा रहेका तथा केहीको पोस्टमार्टम र डीएनए नमुना संकलनको काम पूरा हुन बाँकी रहेकाले मंगलबार ७६ वटा शव मात्रै व्यवस्थापन गरिएको हो।>
प्रहरीका अनुसार शवको पहिचान, पोस्टमार्टम तथा डीएनए संकलनजस्ता संवेदनशील प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्धित शवको अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको छ।>
विपद्बाट प्रभावित जिल्लाहरूमा फेला परेका शवहरू पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पोखरा ल्याइएको थियो। आफन्तले पहिचान गर्न नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।>
शव व्यवस्थापन गर्दा मानवीय संवेदनशीलता, स्वास्थ्य सुरक्षा र आवश्यक मापदण्डलाई ध्यानमा राखिएको प्रहरीले जनाएको छ।>
>
>>