पाल्पा – पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। निरन्तरको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।>
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव पहिरोबाट निकालिएको हो।>
यसअघि शनिबार बिहान पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो।>
चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सारुको भने पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको प्रहरीले जनाएको छ।>
निरन्तरको वर्षासँगै शनिबार बिहान खसेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरभित्र सुतिरहेका उनीहरू पहिरोमा पुरिएपछि बेपत्ता भएका थिए।>
सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो। मृत्यु भएका पाँचै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।>
>>