काठमाडौं —
रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढीको बहाव बढेपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।>
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति ८ः५४ बजे सूचना जारी गर्दै भोटेकोसीदेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको हो।>
महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी नदीमा पुनः बाढीको बहाव बढेको हो।>
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।>
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटमा आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।>
शुक्रबार साँझ जारी गरिएको मौसम बुलेटिनअनुसार रसुवाका केही स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, धादिङ र नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।>
शनिबार दिउँसो र राति पनि रसुवा, धादिङ र नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।>
आइतबार दिउँसो पनि तीनवटै जिल्लाका धेरै स्थानमा मध्यम वर्षासहित केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आइतबार राति रसुवा र धादिङका केही स्थान तथा नुवाकोटका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।>
भोटेकोसीमा पुनः बाढीको बहाव बढेको र आगामी दिनमा समेत प्रभावित क्षेत्रमा वर्षाको सम्भावना रहेकाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।>
सम्बन्धित निकायले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन्।>
>>