काठमाडौं, २६ असोज। प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिन प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्।>
आइतबार राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्न आग्रह गरेका हुन्।>
उनले प्रहरी निरीक्षकहरूले पेशागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पूर्ण पालना गर्नुपर्ने बताए। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेशागत सफलताको महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो।>
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए।>
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुपर्छ,’ उनले भने, ‘आफ्नो भूमिका र संस्थाको गतिलाई बुझेर नागरिकको भावनाअनुरूप काम गर्नुपर्छ।’>
प्रधानमन्त्री शाहले प्रहरी संगठनभित्र पूर्ण प्रतिबद्धताका साथ सहयोग र सहकार्य गर्न पनि दीक्षित प्रहरी निरीक्षकहरूलाई आग्रह गरे। सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट प्रहरीको काम छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने उनले बताए।>
उनका अनुसार प्रविधिको सदुपयोगले अपराध अनुसन्धानलाई समयमै सम्पन्न गर्न तथा आपराधिक घटनालाई नियन्त्रणमा लिन सहयोग पुर्याउँछ। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको उनले उल्लेख गरे।>
यसका लागि प्रहरी संगठनको नेतृत्व र प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्री शाहको भनाइ थियो। सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।>
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने उनीहरूका परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।>>