मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार ४ असोज २०८३, आइतबार

सुनसरीमा गोली लागेर घाइते युवकको शरीरबाट गोली निकालियो

Nepal Akhbar
देवानगन्जमा दुई समूहबीच विवादपछि गोली प्रहार, दुई जना पक्राउ; अन्यको खोजी जारी

देवानगन्ज — सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहबीच भएको विवादका क्रममा गोली लागेर घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।

गोली प्रहारबाट स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए। घटनालगत्तै उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार आइतबार बिहान शल्यक्रिया गरी उनको शरीरबाट गोली निकालिएको हो।

प्रहरीका अनुसार यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो। शरीरबाट निकालिएको गोली कटुवा पेस्तोलमा प्रयोग हुने गोलीजस्तो देखिए पनि परीक्षणपछि मात्रै कुन हतियारबाट प्रहार भएको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

घटनास्थलबाट हतियार तथा गोलीको खोका फेला नपरेका कारण गोली लागेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको थियो। शल्यक्रियापछि गोली निकालिएसँगै त्यसलाई परीक्षणका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादव (लाली) पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोली चलेपछि स्थानीयले विष्णु र जयकृष्णलाई नियन्त्रणमा लिएर रुखमा बाँधेका थिए। प्रहरी पुगेपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए। स्थानीयले उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा समेत आगजनी गरेका थिए।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी खड्काले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार साँझ निरज आफ्ना छिमेकी विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहार गर्ने समूहले विवेकमाथि पनि हातपात गरेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पुरानो रिसिइबी तथा युवतीको विषयलाई लिएर भएको विवाद हुन सक्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत साउन १० गते देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार