काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देश शोकमा डुबिरहेका बेला प्रवासमा रहेका नेपाली युवाहरू दीर्घकालीन उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा जुटेका छन्।>
मूल घर गोरखाको पालुङटार भई हाल अमेरिकाको डल्लासमा बसोबास गर्दै आएका नेपाली युवाहरूको पहलमा ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ को संयुक्त आयोजनामा बाढी–पहिरो प्रभावितका लागि कुल ३ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष घोषणा गरिएको छ।>
अभियानको नेतृत्व गरिरहेका ‘भिजिट नेपाल’का अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले व्यक्तिगत तर्फबाट तत्कालीन आपत्कालीन सहायतास्वरूप ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेका छन्।>
यस अभियान राजीव राजभाटका लागि व्यक्तिगत पीडासँग पनि जोडिएको छ। जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड मेला भर्न गएका बेला उनका आफ्नै निकटतम आफन्तसहित पालुङटार र नौखरे क्षेत्रका ३० जनाभन्दा बढी प्रिय छिमेकीहरू पहिरोमा परी अझै बेपत्ता छन्।>
देश विपत्तिमा परेका बेला विश्वभर छरिएर रहेका प्रत्येक नेपालीको भावनात्मक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले ‘एक नेपाली, एक रुपैयाँ’ को अवधारणासहित ३ करोड रुपैयाँको कोष स्थापना गरिएको हो।>
राजभाटले सुरुवाती चरणमै उपलब्ध गराएको ३० लाख रुपैयाँले तत्कालीन आपत्कालीन उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँकी रकम भने ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’को व्यवस्थापनमा बाढी–पहिरो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, विस्थापित परिवारको पुनर्स्थापना तथा पीडित बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा दीर्घकालीन योजनाअन्तर्गत परिचालन गरिनेछ।>
कोषबाट हुने सहयोगलाई पारदर्शी र आवश्यकतामा आधारित ढंगले प्रभावित समुदायसम्म पुर्याउने अभियानको लक्ष्य रहेको छ। प्रवासमा रहेका नेपाली युवाहरूको यो पहलले विपत्तिको घडीमा राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा समेत प्रवासी नेपालीको जिम्मेवार भूमिका स्थापित गर्ने अपेक्षा गरिएको छ।>
>>