काठमाडौं, २८ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी भएनन्।>
सात वर्षपछि पहिलोपटक ब्रिक्स सम्मेलनमा सहभागी हुन शनिबार भारत पुगेका सी आइतबार बेइजिङ फर्किसकेका छन्। भारत भ्रमणका क्रममा उनले ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।>
तर, शनिबार साँझ मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरूका लागि आयोजना गरेको रात्रिभोजमा भने सी उपस्थित भएनन्। सी रात्रिभोजमा सहभागी नभएको विषयमा चिनियाँ वा भारतीय पक्षले औपचारिक रूपमा कुनै कारण सार्वजनिक गरेको छैन।>
भारतीय समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार सी रात्रिभोजमा सहभागी हुनुको सट्टा होटलमा आराम गर्न फर्किएका थिए।>
सी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका थिए। त्यसपछि उनले दिउँसो करिब २ बजे सुरु भएको ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाएका थिए। सम्मेलनका क्रममा मोदीसँग भएको भेटलाई भारत र चीनबीच द्विपक्षीय सम्बन्ध सुधारका प्रयास भइरहेका बेला भएको महत्वपूर्ण भेटका रूपमा हेरिएको थियो।>
रात्रिभोजमा सीको अनुपस्थिति भने विशेष चासोको विषय बनेको छ। अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान पनि रात्रिभोजमा सहभागी भएनन्। यद्यपि, उनको अनुपस्थितिको कारण स्पष्ट थियो। उनले दिनभर ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि संयुक्त अरब इमिरेट्स फर्किएका थिए।>
को-को सहभागी भए?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ब्रिक्सका अन्य सदस्य राष्ट्रका नेताहरू मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।>
भारतका गृहमन्त्री अमित शाह, अर्थमन्त्री निर्मला सीतारमण, वाणिज्यमन्त्री पीयूष गोयल, सञ्चारमन्त्री अश्विनी वैष्णव र कृषिमन्त्री शिवराज सिंह चौहान पनि रात्रिभोजमा उपस्थित थिए। लोकसभा सभामुख ओम बिरला पनि कार्यक्रममा सहभागी भए।>
त्यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, पश्चिम बंगालका सुवेन्दु अधिकारी र असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा पनि रात्रिभोजमा सहभागी भएका थिए।>
भारतले सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा ब्रिक्सका ११ सदस्य राष्ट्र तथा १० साझेदार राष्ट्रका नेतासहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी छन्।>
सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रबीच सहकार्य सुदृढ गर्ने तथा विश्व र क्षेत्रीय स्तरका महत्वपूर्ण विषयमा छलफल भइरहेको छ। सम्मेलनबाट संयुक्त वक्तव्य जारी गर्ने तयारीसमेत भइरहेको छ।>
>>