रूपन्देही — जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।>
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कैद सजाय कार्यान्वयनसँगै रु. १ करोड ३५ लाख ४० हजार ६०० जरिवाना असुलउपर गरिएको छ ।>
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको बताए ।>
उनका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने तथा ठगी र अन्य अपराधजन्य घटना न्यूनीकरण एवं रोकथामका लागि प्रहरीले सक्रियता बढाएको छ । जारी अभियानलाई आगामी दिनमा पनि प्राथमिकताका साथ निरन्तरता दिइने उनले बताए ।>
यसैबीच, रूपन्देही प्रहरीले ठगी तथा संगठित अपराधको कसुरमा फरार रहेकी मर्चवारीमाई–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।>
प्रहरीका अनुसार बरईले समूह बनाएर सर्वसाधारणबाट रु. १ करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोप छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।>
>>