काठमाडौं — चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजिजविरुद्ध अमेरिकामा दायर गरिएको आपराधिक मुद्दाको सुनुवाइ सेप्टेम्बरमा हुने भएको छ। सुनुवाइअघि मंगलबारदेखि जुरी सदस्य छनोट प्रक्रिया सुरु हुने समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।>
अमेरिकाले ह्वावेमाथि प्रविधि तथा व्यापारिक गोप्य सूचना चोरी गर्ने षड्यन्त्र गरेको, विद्युतीय सञ्चार तथा बैंकिङ ठगी गरेको लगायतका विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएको छ। कम्पनीले अमेरिकाको न्यूयोर्कमा आपराधिक र्याकेटियरिङसम्बन्धी मुद्दा सामना गरिरहेको छ।>
अमेरिकी अधिकारीहरूले ह्वावेमाथि पहिलोपटक अभियोग दायर गरेको करिब आठ वर्षपछि मुद्दाको सुनुवाइ हुन लागेको हो। अभियोगपत्रमा व्यापारिक गोप्य सूचना चोरीका अतिरिक्त ह्वावे र उसका केही सहायक कम्पनीले अमेरिकाले प्रतिबन्ध लगाएको उत्तर कोरियासँग कारोबार गरेको आरोपसमेत लगाइएको छ।>
त्यसैगरी, सन् २००९ मा इरानमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीको निगरानी गर्न इरानलाई सहयोग पुग्ने उपकरण उपलब्ध गराएको आरोप पनि ह्वावेमाथि छ।>
ह्वावेका कानुनी प्रतिनिधिहरूले भने अमेरिकी सरकारका आरोप खारेज हुनुपर्ने माग गर्दै आएका छन्। अदालतमा दायर गरिएका निवेदनमा आरोपहरू अत्यधिक अस्पष्ट रहेको, केही आरोप अमेरिकी क्षेत्राधिकारभन्दा बाहिर लागू गर्न नमिल्ने प्रकृतिका रहेको तथा घरेलु विद्युतीय सञ्चार र बैंकिङ ठगीसम्बन्धी आरोप प्रमाणित गर्न नसकिने दाबी गरिएको छ।>
ह्वावे विश्वकै प्रमुख वायरलेस दूरसञ्चार नेटवर्क उपकरण आपूर्तिकर्तामध्ये एक हो। सुरक्षा जोखिम उत्पन्न हुन सक्ने आशंकामा अमेरिकाले आफ्ना दूरसञ्चार सेवा प्रदायकलाई ह्वावेका उपकरण प्रयोग तथा खरिदमा प्रतिबन्ध लगाएको छ।>
अमेरिकासहित क्यानडा, बेलायतलगायत केही पश्चिमा मुलुकले पनि ह्वावेलाई सुरक्षा जोखिमसँग जोडेर प्रतिबन्ध तथा सीमितता लगाएका छन्।>
ह्वावेले स्मार्टफोन तथा अन्य उपभोक्ता विद्युतीय उपकरण उत्पादन गर्दै आएको छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै माइक्रोप्रोसेसरको माग बढेपछि कम्पनी चिप उत्पादनतर्फ पनि विस्तार भएको छ। यद्यपि अमेरिकी प्रतिबन्धका कारण उसका केही अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधि प्रभावित भएका छन्।>
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी प्रशासनले ह्वावेबाट उत्पन्न हुन सक्ने राष्ट्रिय सुरक्षा जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो। त्यसपछि अमेरिकाले आफ्ना पश्चिमा सहयोगी राष्ट्रहरूलाई आगामी पुस्ताको उच्चगतिको वायरलेस नेटवर्कमा ह्वावेका उपकरण प्रयोग नगर्न दबाब दिँदै आएको थियो।>
अमेरिकाले सन् २०१९ को सुरुवातमा ह्वावेमाथि आपराधिक आरोप सार्वजनिक गरेको थियो। त्यसयता कम्पनीमाथिका आरोपहरू थप विस्तार गरिएका छन्।>
चिनियाँ अधिकारीहरूले भने अमेरिकामाथि ‘आर्थिक दादागिरी’ गरेको आरोप लगाउँदै राष्ट्रिय सुरक्षाको नाममा चिनियाँ कम्पनीलाई अनुचित रूपमा दबाब र दमन गरेको बताउँदै आएका छन्।>
अमेरिकी अभियोगअनुसार ह्वावेले हङकङमा दर्ता भएको स्काइकम नामक कम्पनीमार्फत अमेरिकी प्रतिबन्ध उल्लङ्घन गर्दै इरानमा उपकरण बिक्री गरेको आरोप छ।>
ह्वावेकी तत्कालीन प्रमुख वित्तीय अधिकृत मेङ वानझोउमाथि पनि ठगीसम्बन्धी आरोप लगाइएको थियो। उनले ह्वावेको इरानसँगको व्यावसायिक कारोबारबारे एचएसबीसी बैंकलाई भ्रामक जानकारी दिएको अमेरिकी पक्षको आरोप थियो।>
ह्वावेका संस्थापककी छोरीसमेत रहेकी मेङलाई सन् २०१८ को अन्त्यतिर अमेरिकाको सुपुर्दगी अनुरोधका आधारमा क्यानडामा पक्राउ गरिएको थियो। उनी सन् २०२१ सेप्टेम्बरमा उच्चस्तरीय सम्झौतापछि रिहा भएकी थिइन्।>
त्यस सम्झौताअन्तर्गत चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक पनि रिहा भएका थिए। सम्झौताको हिस्साका रूपमा अमेरिकाले मेङलाई सुपुर्दगी गर्न गरेको अनुरोध फिर्ता लिएको थियो भने उनीविरुद्ध लगाइएको ठगीसम्बन्धी मुद्दा पनि खारेज गर्ने प्रक्रिया अघि बढाइएको थियो।>
>>