२ असोज, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालनमा आएको छ।>
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै हेटौंडाबाट काठमाडौं जाने दुवै मार्गमा दुईतर्फी यातायात खुला गरिएको हो।>
त्रिभुवन राजपथले हेटौंडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।>
कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि एकतर्फी यातायात व्यवस्था लागू गरेको थियो। उक्त व्यवस्थाअनुसार काठमाडौं जाने सवारीसाधनलाई त्रिभुवन राजपथ र फर्कने सवारीसाधनलाई कान्ति राजमार्ग प्रयोग गर्न भनिएको थियो।>
कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त एकतर्फी व्यवस्था हटाइएको हो। अब दुवै राजमार्गमा सवारीसाधनले नियमित रूपमा दुवैतर्फ आवतजावत गर्न पाउने भएका छन्।>
>>