मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २८ भाद्र २०८३, आइतबार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा बढ्यो सवारी चाप

Nepal Akhbar
दैनिक २ हजार ५०० देखि ३ हजारसम्म ठूला मालवाहक सवारी गुड्दा सडकमा जाम र पहिरोको जोखिम

ललितपुर, २८ भदौ । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कान्ति लोकपथमा मालवाहक सवारीसाधनको चाप बढेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। वैकल्पिक ट्र्याक खोलिए पनि यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ।

यसैबीच हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली मालवाहक सवारी कान्ति लोकपथ हुँदै हेटौँडा जाने व्यवस्था गरिएको छ।

ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवबाट सुरु हुने कान्ति लोकपथ ललितपुर र मकवानपुरलाई जोड्ने प्रमुख वैकल्पिक सडक बनेको छ। उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथमार्फत हेटौँडा जाने गरेका छन्।

तर, बढ्दो सवारी चापसँगै कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरो, साँघुरो सडक र एकतर्फी ट्र्याकका कारण आवागमन प्रभावित हुँदै आएको छ।

कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरीको बिर्खेधारासहित बागमती गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। भालुखोला, कार्कीबास, काल्चे, भान्सेखोला, टाकुर्से र पाङ्दुर क्षेत्रलाई सडकका प्रमुख अवरोधका रूपमा पहिचान गरिएको छ।

भान्सेखोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधनले केही समय लाइनमा बस्नुपर्ने अवस्था रहेको घिमिरेले बताए।

बागमती गाउँपालिकाको पाङ्दुरमा करिब ८०० मिटर सडक पार गर्न मात्रै २५ मिनेटदेखि आधा घण्टासम्म लाग्ने गरेको छ। अहिले कान्ति लोकपथमा दैनिक करिब २ हजार ५०० देखि ३ हजारसम्म १२, १४ र १६ चक्के मालवाहक सवारीसाधन सञ्चालन हुने गरेको उनले जानकारी दिए।

ठूला सवारीसाधनको अत्यधिक चापका कारण सडक मर्मत गरेर रातभरमा पुरिएको भागसमेत दिनभरमै पुनः बिग्रने अवस्था रहेको घिमिरेको भनाइ छ।

त्यस्तै, बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा करिब ६५ मिटर सडकखण्डमा समस्या देखिएको छ। चट्टान कटानको काम जारी रहेकाले उक्त स्थानमा सवारीसाधनले छोटो दूरी पार गर्नसमेत लामो समय कुर्नुपर्ने अवस्था छ।

साँघुरो तथा निर्माणाधीन सडक भएकाले ठूला बस सञ्चालनमा समेत समस्या भइरहेको छ। नियमित पहिरो जाने क्षेत्रबाहेक अन्य स्थानमा सडकको अवस्था तुलनात्मक रूपमा राम्रो भए पनि एकतर्फी सडकका कारण सवारीसाधन जाममा पर्ने गरेका छन्।

चौबिसै घण्टा ट्राफिक व्यवस्थापन

सवारी चाप बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कान्ति लोकपथमा चौबिसै घण्टा ट्राफिक व्यवस्थापनको व्यवस्था गरेको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडकमा अवरोध आए तत्काल हटाउन भट्टेडाँडा र टीकाभैरवमा हेभिइक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ।

सवारी चाप बढेसँगै टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडालगायत क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए।

सुवेदीका अनुसार भोटेकोशीमा भदौ १० गते बाढी आउनुअघि कान्ति लोकपथमा दैनिक करिब एक सय सवारीसाधन सञ्चालन हुने गरेका थिए। बाढीपछि भने एकै दिनमा १ हजारदेखि १ हजार ५०० सम्म सवारीसाधन गुड्न थालेका छन्।

सवारी चाप बढ्दा व्यापारमा मन्दी

मालवाहक सवारीसाधनको चाप बढे पनि कान्ति लोकपथ आसपासका व्यवसायीले भने व्यापार घटेको बताएका छन्।

छपेलीमा होटल व्यवसाय गर्दै आएकी प्रमिला दाहालका अनुसार अहिले सडकमा ठूला मालवाहक तथा खाली सवारीसाधनको संख्या बढेको छ। तर, चालक मात्र सवार हुने भएकाले होटल तथा अन्य व्यवसायमा त्यसको सकारात्मक प्रभाव परेको छैन।

उनका अनुसार पहिले यात्रुसहितका साना सवारीसाधनबाट दैनिक करिब २०० जनालाई खाना खुवाउने होटलमा अहिले पाँचदेखि १० जनाले मात्र खाना खाने गरेका छन्। ठूला सवारीसाधन केहीबेर रोकिँदा समेत सडकमा जाम हुने भएकाले व्यवसाय थप प्रभावित भएको उनको भनाइ छ।

यसअघि ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जनले सरकारले कान्ति लोकपथलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका थिए।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथमा निर्भरता बढे पनि सडकको कमजोर पूर्वाधार, पहिरो र बढ्दो सवारी चापका कारण यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार