सर्लाही — उखु बिक्री गरेबापतको रकम समयमा नपाउँदा सर्लाहीका किसान फेरि आर्थिक समस्यामा परेका छन्। धन्कौल गाउँपालिका–२ स्थित अन्नपूर्ण चिनी उद्योगले गत याममा किसानबाट खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ अझै भुक्तानी गर्न बाँकी रहेको पाइएको छ।>
उद्योगले सिजन २०८२/८३ मा ३ हजार १८६ जना किसानबाट ९ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु खरिद गरी क्रसिङ गरेको थियो। उखु खरिदबापत किसानलाई कुल ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा करिब २२ करोड रुपैयाँ अझै बाँकी रहेको छ।>
किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले समेत उद्योगले किसानलाई करिब २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।>
धन्कौल गाउँपालिका–३ का कैलाश पासवानले आफूले उद्योगलाई बिक्री गरेको ३०० क्विन्टल उखुको रकममध्ये केही मात्र पाएको बताए। उनले ५० कट्ठा खेतमा उखु खेती गरेका छन्, जसमा २० कट्ठा आफ्नै र बाँकी जग्गा ठेक्कामा लिएको हो।>
उखु बिक्रीको रकम समयमा नपाउँदा ठेक्का रकम तिर्नसमेत समस्या भएको पासवानको भनाइ छ। खेतीबाटै घरखर्च, बालबालिकाको शिक्षा, लालनपालन र चाडपर्वको खर्च व्यवस्थापन गर्नुपर्ने भए पनि उद्योगले भुक्तानीमा ढिलाइ गर्दा ऋण लिनुपर्ने अवस्था आएको उनले बताए।>
छोरीको विवाहका क्रममा समेत रकम अभाव भएपछि आफूले साहुमहाजनसँग सयकडा तीन रुपैयाँ ब्याजमा ऋण लिनुपरेको पासवानले गुनासो गरे। उनका अनुसार उद्योगबाट अझै ५६ हजार रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ।>
उखुको रकम पाउन वर्षौं कुर्नुपर्ने समस्या देखिएपछि आफूले यसपटक करिब ४०० क्विन्टल उखु नगदमा बिक्री गरेको उनले बताए। उनका अनुसार बिचौलियाले किसानबाट उखु प्रतिक्विन्टल ३५ देखि ४० रुपैयाँ कम मूल्यमा खरिद गरी आफ्नो नाममा उद्योगलाई बिक्री गर्ने गरेका छन्। यस क्रममा किसानले पाउने अनुदानसमेत दुरुपयोग हुने गरेको उनको आरोप छ।>
धन्कौल–२ का पाँचु सहनीको अनुभव पनि उस्तै छ। खेतीपाती नै आयआर्जनको मुख्य माध्यम रहेका सहनीले ठेक्कामा लिएको जग्गामा उखु खेती गर्दै आएका छन्। तर, अन्नपूर्ण चिनी उद्योगबाट वर्षौंदेखिको भुक्तानीसमेत अझै नपाएको उनको गुनासो छ।>
सहनीका अनुसार उद्योगले २०७४ सालमा बिक्री गरेको उखुको केही रकम अहिलेसम्म भुक्तानी गरेको छैन। सोही समय उद्योग आर्थिक रूपमा धरासायी भएपछि समस्या सुरु भएको उनले बताए।>
उद्योगका तत्कालीन सञ्चालकले उद्योग बिक्री गरेपछि पुरानो भुक्तानी कसले गर्ने भन्ने विषयमा आफूहरू अन्योलमा परेको सहनीले बताए। भुक्तानी माग्न जाँदा पुरानो मालिकले २०७४ सालसम्मको रकम तिर्नुपर्ने र त्यसपछिको विवरण फेला नपरेको भन्दै रकम नदिइएको उनको भनाइ छ।>
त्यसपछि उनले सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग र रौतहटका अन्य उद्योगमा उखु बिक्री गर्दै आएका थिए। तर, यस वर्ष मिलगेट क्षेत्र निर्धारण गरी अन्यत्र काँटा नराख्ने सहमति भएपछि बाहिरी उद्योगबाट उखु खरिद गर्न नआएको र बाध्य भएर अन्नपूर्णलाई नै उखु बिक्री गर्नुपरेको उनले बताए।>
यसपटक उद्योगलाई करिब ५०० क्विन्टल उखु बिक्री गरेका सहनीले पनि भुक्तानी पाउन बाँकी रहेको बताए। हरिवनस्थित उद्योगले उखु बिक्री गरेको करिब १५ दिनमै रकम दिने गरेको उदाहरण दिँदै उनले अन्नपूर्णबाट भने लामो समयसम्म रकम नपाएको गुनासो गरे।>
यता अन्नपूर्ण चिनी उद्योग प्रशासनले भने किसानको भुक्तानी नियमित रूपमा गरिरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको रकम बाँकी रहेको स्वीकार गर्दै भुक्तानी जारी रहेको बताए।>
उनका अनुसार किसानको बाँकी रकम कात्तिक मसान्तसम्म भुक्तानी गरिसक्ने योजना छ। दसैँअघि नै सकेसम्म धेरै रकम किसानको खातामा जम्मा गर्नेगरी काम भइरहेको उनले बताए। यद्यपि, हालसम्म बाँकी रकममध्ये कति भुक्तानी भइसकेको भन्ने यकिन तथ्याङ्क भने आफूसँग नरहेको श्रीवास्तवले बताएका छन्।>
उखु बिक्री गरेपछि रकम पाउन लामो समय कुर्नुपर्ने समस्या हरेक वर्ष दोहोरिँदा किसानहरू उखुखेतीप्रति नै निराश हुन थालेका छन्। समयमै भुक्तानी नहुँदा खेतीको लागत, जग्गाको ठेक्का, घरायसी खर्च र ऋणको ब्याज व्यवस्थापन गर्न किसानलाई थप कठिनाइ भइरहेको छ।>
>>