न्युयोर्क, अमेरिका — संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा सुरु भएको छ। ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको महासभा आगामी २९ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।>
महासभाको उद्घाटन सत्रलाई अध्यक्ष खालिलुर रहमान र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्।>
सम्बोधनका क्रममा महासभाका अध्यक्ष रहमानले विश्वशान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, न्याय र जलवायु परिवर्तनलगायतका जल्दाबल्दा विषयमा प्रभावकारी छलफलमार्फत विश्वव्यापी चुनौती सम्बोधन गर्न ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे।>
उनले दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार तथा मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि संयुक्त राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा समेत महत्वपूर्ण छलफल हुने बताए।>
महासचिव गुटेरेसले विश्व विभिन्न प्रकारका द्वन्द्वबाट प्रभावित भइरहेका बेला त्यसको समाधानका लागि उपयुक्त रणनीति र कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्रसङ्घले प्राथमिकता दिनुपर्ने बताए।>
जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विश्वव्यापी विभाजन तथा आणविक जोखिमजस्ता चुनौतीले समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै उनले आपसी सहयोग, संवाद र सहकार्यबाट यस्ता समस्या समाधान गर्न महासभा महत्वपूर्ण मञ्च बन्न सक्ने बताए।>
महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले पनि विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ।>
नियोगले संवाद र सामूहिक प्रयासमार्फत विश्वशान्ति, विकास, मानवीयता तथा जलवायु न्यायका क्षेत्रमा काम गर्न नेपाल प्रतिबद्ध रहेको जनाएको छ। महासभाको अध्यक्षमा निर्वाचित बङ्गलादेशी कूटनीतिज्ञ खालिलुर रहमानलाई नियोगले बधाईसमेत दिएको छ।>
यसैबीच, मंगलबार नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी परिणाम सुनिश्चित गर्न विकासको गति तीव्र बनाउन आग्रह गरेका छन्।>
अल्पविकसित मुलुकहरूको समूहमा रहेका अफ्रिकी राष्ट्रका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गर्दै थापाले उत्पादन क्षमता विस्तार, डिजिटलाइजेसन, जलवायु परिवर्तनसँग जुध्ने क्षमता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत र प्रतिबद्धता कार्यान्वयनमा जोड दिए।>
कम विकसित मुलुकहरूको समूहगत अध्यक्षका रूपमा सम्बोधन गर्दै उनले विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायबीच थप सहकार्य र ठोस प्रतिबद्धता आवश्यक रहेको बताए।>
>>