इरानले पश्चिम एसियामा जारी द्वन्द्व समाधानका लागि अमेरिकासमक्ष सातदिने योजना अघि सारेको जनाएको छ। उक्त योजनाअनुसार निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज जलघाँटी पुनः खोल्ने र त्यसपछि आणविक कार्यक्रमसम्बन्धी वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। >
इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकासँग मध्यस्थकर्तामार्फत प्रस्ताव पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार प्रस्तावमा हर्मुज जलघाँटी खोल्नुका साथै अमेरिका–इरानबीच आणविक विषयमा पुनः वार्ता सुरु गर्ने विषय समेटिएको छ। >
अराघचीले यो प्रस्ताव यसअघि जुनमा अमेरिका र इरानबीच भएको समझदारीसँग मिल्दोजुल्दो रहेको बताएका छन्। उनले सम्भावित सम्झौता अमेरिकी मध्यावधि निर्वाचनअघि नै हुन सके उपयुक्त हुने धारणा पनि राखेका छन्। >
यसअघि पनि इरानले अमेरिकाले सैन्य दबाब घटाए तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाए हर्मुज जलघाँटी सात दिनभित्र खोल्न सकिने बताएको थियो। उक्त प्रस्ताव सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष पठाइएको इरानी पक्षको भनाइ छ। >
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि आफ्नो देश आणविक कार्यक्रमबारे वार्ताका लागि तयार रहेको बताएका छन्। उनले अन्तर्राष्ट्रियस्तरबाट आणविक कार्यक्रमको निरीक्षण तथा प्रमाणिकरण स्वीकार गर्न सकिने संकेत दिएका छन्। >
यसबीच अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः सञ्चालन र आर्थिक नाकाबन्दी हटाउने विषयमा चरणबद्ध समझदारीको सम्भावनाबारे छलफल भइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्। यद्यपि नयाँ प्रस्तावमा दुवै पक्षबीच सहमति भइसकेको छैन। >
हर्मुज जलघाँटी विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापार मार्गमध्ये एक भएकाले यसको अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र सामुद्रिक व्यापारमा प्रभाव पार्न सक्छ।>
>>