मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २७ भाद्र २०८३, शनिबार

विपद् आएपछि उद्धार होइन, जोखिम घटाउने तयारीमा काभ्रेपलाञ्चोक

Nepal Akhbar
तीन आर्थिक वर्षमा १४ हजारभन्दा बढी विपद्का घटना; जोखिमयुक्त बस्ती पहिचानदेखि पूर्वसूचना र सुरक्षित निर्माणसम्मका योजना अघि बढाइँदै

२७ भदौ, बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकले विपद् भएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुने परम्परागत अभ्यास परिवर्तन गर्दै विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता दिन थालेको छ।

भौगोलिक विविधता र जटिल भू–बनोटका कारण विपद्को उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकमा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै १४ हजार ३०४ वटा विपद्का घटना दर्ता भएका छन्। बाढी, पहिरो, आगलागी, चट्याङ, करेन्ट लाग्ने, महामारी, जनावरको आक्रमण तथा लडेर मृत्यु हुनेलगायत घटनाबाट जिल्लाले ठूलो जनधनको क्षति बेहोर्दै आएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले विगतका घटनाबाट प्राप्त अनुभवका आधारमा जोखिमयुक्त बस्तीको पहिचान तथा रेखाङ्कन, प्रतिकार्य क्षमता अभिवृद्धि, राहत तथा पुनःस्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका योजना अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३७९, २०८१/८२ मा १३ हजार ८७३ र २०८२/८३ मा १६२ गरी तीन वर्षमा १४ हजार ३०४ विपद्का घटना भएका हुन्।

आव २०८०/८१ मा २३५ आगलागी तथा ८७ बाढी–पहिरोसहित ३७९ घटना भएका थिए। ती घटनामा १७ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

त्यसपछिको आव २०८१/८२ भने जिल्लाका लागि विपद्का दृष्टिले निकै क्षतिको वर्ष बन्यो। उक्त वर्ष दर्ता भएका १३ हजार ८७३ घटनामध्ये १३ हजार ७०८ बाढी तथा पहिरो र ११६ आगलागीका थिए। विपद्मा परी ९१ जनाको मृत्यु, ११३ जना घाइते र आठ जना बेपत्ता भएका थिए। त्यस वर्ष आठ हजार ९०८ घर तथा गोठमा क्षति पुगेको थियो भने दुई हजार ७१० चौपायाको क्षति भएको थियो।

आव २०८२/८३ मा भने बाढी–पहिरोका ९९ र आगलागीका २९ सहित १६२ विपद्का घटना भएका थिए। ती घटनामा १३ जनाको मृत्यु र १२ जना घाइते भएका थिए।

चालु आर्थिक वर्षको सुरुआतमै काभ्रेपलाञ्चोकले अर्को पीडादायी अवस्था सामना गरिरहेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका काभ्रेका नागरिक अझै सम्पर्कविहीन छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका ६५ जनामध्ये २४ जना सकुशल परिवारको सम्पर्कमा आएका छन् भने एक जनाको शव परिवारले बुझेको छ। अझै ४० जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

यसैगरी, चालु आवको साउनमा रोशी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको थियो भने भुम्लु र धुलिखेलमा करेन्ट लागेर दुई जनाको ज्यान गएको थियो।

सात पालिका उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले काभ्रेका १३ वटै स्थानीय तहको विपद् जोखिम वर्गीकरण तथा रेखाङ्कन गरेको छ। समग्र संकटासन्नताका आधारमा पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती, महाभारत र खानीखोला गरी सात पालिका उच्च जोखिममा छन्।

मण्डनदेउपुर, भुम्लु, रोशी, बेथानचोक, तेमाल र चौँरीदेउरालीलाई मध्यम जोखिममा राखिएको छ।

विषयगत रूपमा मण्डनदेउपुर, भुम्लु, रोशी, बेथानचोक, महाभारत, तेमाल, खानीखोला र चौँरीदेउराली पहिरोको उच्च जोखिममा छन्। पाँचखाल, बनेपा, नमोबुद्ध, पनौती, महाभारत र खानीखोलामा बाढीको जोखिम उच्च रहेको छ।

रोशी खोला, इन्द्रावती, सुनकोशी तथा पुण्यमाता करिडोर आसपासका बस्ती बाढी र नदी कटानको जोखिममा छन्। पहिरो तथा भूकम्पीय जोखिमका दृष्टिले भने जिल्लाका सबै १३ स्थानीय तह जोखिममा रहेका छन्।

जोखिमयुक्त क्षेत्र पहिचानसँगै अतिजोखिमयुक्त बस्तीको नियमित अनुगमन र जोखिम नक्साङ्कन गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा स्थानीय तहसँगको समन्वयमा पूर्वतयारी र प्रतिकार्यका लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ।

जोखिम नक्साङ्कनलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका साथै खोज तथा उद्धार सामग्री र जनशक्ति समयमै परिचालन गर्न उपयोग गरिनेछ।

डिजिटल पोर्टलमा क्षतिको विवरण

जोखिमयुक्त क्षेत्र पहिचानसँगै प्राविधिक टोलीले विस्तृत क्षति आकलन गरी भौगोलिक अवस्थिति, तस्बिर तथा प्रमाणीकरणसहितका विवरण डिजिटल ‘विपद् पोर्टल’मा समावेश गरेको छ।

यसबाट क्षतिको विवरण सङ्कलन, लाभग्राही पहिचान तथा राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

विपद्बाट प्रभावित परिवारको पुनःस्थापनाका लागि अस्थायी आवास अनुदान वितरण भइरहेको छ। पहिलो किस्ताबापत तीन हजार १६५ लाभग्राहीलाई रु. ७ करोड ९१ लाख २५ हजार र दोस्रो किस्ताबापत एक हजार ६६० लाभग्राहीलाई रु. ४ करोड १५ लाख गरी हालसम्म रु. १२ करोड ६ लाख २५ हजार निकासा भइसकेको छ।

पूर्ण क्षति भएका निजी आवासको स्थायी निर्माणका लागि प्रतिपरिवार रु. चार लाख अनुदान उपलब्ध गराउने प्रक्रियाअन्तर्गत रोशीका २३९, बेथानचोकका २५२ र मण्डनदेउपुरका ५२ परिवारलाई लाभग्राहीका रूपमा सिफारिस गरिएको छ। उनीहरूको सम्झौता, विवरण रुजु तथा अनुदान हस्तान्तरणको प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, चालु आवमा बर्डफ्लुबाट प्रभावित २० वटा कृषि फार्मलाई रु. ४ करोड ९४ लाख ९८ हजार ७६६ रुपैयाँ ५० पैसा राहत तथा क्षतिपूर्ति उपलब्ध गराइएको छ। थप १० फार्मका लागि प्रक्रिया अघि बढाइएको छ।

उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा

विपद् प्रतिकार्यका लागि जिल्लाका १३ स्थानीय तहका विपद् कोषमा कुल रु. ४ करोड १६ लाख ६२ हजार १३७ रुपैयाँ ३२ पैसा मौज्दात रहेको छ। जिल्ला विपद् कोषमा रु. ७४ लाख १३ हजार ६५१ र प्रदेश विपद् कोषमा रु. १० लाख ४७ हजार ७९० मौज्दात रहेको छ।

आपतकालीन उद्धार तथा प्रतिकार्यका लागि जिल्लामा ११ वटा विषयगत क्लस्टर गठन गरिएको छ। खोज तथा उद्धार, पूर्वाधार, खाद्य तथा कृषि, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, बजार अनुगमन, पोषण, वातावरण र सामाजिक संरक्षणलगायत क्षेत्रमा सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका ४१, नेपाल प्रहरीका ८० र सशस्त्र प्रहरी बलका ५८ जना तालिमप्राप्त सुरक्षाकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। १३ वटै स्थानीय तहमा नेपाल रेडक्रसका ३५ प्रतिनिधिसहित स्थानीय युवा स्वयंसेवकलाई पनि आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था गरिएको छ।

जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमका अनुसार बाढी तथा पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सुरक्षित निर्माणलाई प्रोत्साहन गर्ने र जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार रोक्ने योजना अघि बढाइएको छ।

उनका अनुसार सुरक्षित निर्माण मापदण्ड तथा भू–उपयोग नीतिको कार्यान्वयनमा जोड दिइनेछ। विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि आवधिक कार्यतालिका पनि निर्माण गरिएको छ।

साउनमा जोखिम पहिचान, असोजमा स्थानीय स्रोत तथा साधनको क्षमता र स्थिति नक्साङ्कन, मङ्सिरमा विपद् परिस्थिति विश्लेषण तथा स्थिति प्रतिवेदन तयार गर्ने र पुसमा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परिमार्जन गर्ने कार्यतालिका तय गरिएको छ।

माघमा विपद् कोष स्थापना, फागुनमा विपद् पूर्वतयारी तथा कोष परिचालन कार्यविधि र चैतमा जिल्ला विपद् व्यवस्थापन समितिसम्बन्धी कार्य अघि बढाइनेछ।

हाल स्वयंसेवक, विपद् उद्धार समूह तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ। वर्षा हुनासाथ नदी तटीय क्षेत्रका नागरिकलाई सूचना प्रवाह गर्ने तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा बीपी राजमार्गमा सवारी आवागमन रोक्नेलगायतका काम पनि हुँदै आएको गौतमले बताए।

स्थानीय विपद् प्रतिकार्य, पूर्वसूचना, राहत तथा पुनःस्थापनासम्मका सबै उपसमूहलाई मनसुन अवधिमा मात्र नभई सधैँ तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

उनका अनुसार विपद् परेपछि सम्बन्धित निकायले समन्वय गरी तत्काल काममा लाग्ने तथा क्षतिग्रस्त विद्युत्, खानेपानी र सडकजस्ता संरचना पुनः सञ्चालनका लागि सम्बन्धित निकायले स्वतः मर्मत तथा सञ्चालनको काम अघि बढाउने निर्णय गरिएको छ।

भौगोलिक विकटता, सडक अवरोध, सञ्चार सम्पर्क विच्छेद, सीमित स्रोत तथा साधन, रात्रिकालीन उद्धारको चुनौती र आपतकालीन बजेटको अभावलाई जिल्लाले विपद् प्रतिकार्यका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ।

विशेषगरी दुर्गम तथा पहाडी क्षेत्रमा विपद्का बेला उद्धार टोली समयमै पुग्न नसक्दा प्रतिकार्यमा कठिनाइ हुने गरेको छ। यस्ता चुनौतीका बीच सङ्घ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, रेडक्रस, गैरसरकारी संस्था तथा समुदायबीच समन्वय गरी सुरक्षित पूर्वाधार निर्माण, जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणाली र समुदायस्तरको तयारीलाई अघि बढाइएको छ।

विगतका विपद्बाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिबाट पाठ सिक्दै काभ्रेपलाञ्चोकको विपद् व्यवस्थापन रणनीति अब विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि नै जोखिम घटाउनेतर्फ केन्द्रित हुन थालेको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार