काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ।>
बडादसैँलाई ध्यानमा राख्दै मतगणना छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न मंगलबार पनि २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।>
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पार्टी केन्द्रीय कार्यालयमा मतगणना व्यवस्थित र मर्यादित रूपमा अघि बढिरहेको छ। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।>
कटुवालले मंगलबार बिहानसम्म दुई क्लस्टरको मतगणना सम्पन्न भएको जानकारी दिए। उनका अनुसार चार क्लस्टरको गणना जारी छ भने बाँकी छ क्लस्टरको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ।>
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यस्तै, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ।>
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।>
त्यसैगरी, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पद तथा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य पदको मतगणना जारी छ। ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।>
बाँकी क्लस्टरको मतगणना पनि सुरु गरेर निर्धारित समयभित्र सबै पदको परिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ।>
>>