काठमाडौं, २२ असोज — चाडपर्वको समयमा आन्तरिक हवाई भाडा महँगो भएको गुनासो बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन्।>
प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रुको गुनासो सम्बोधन गर्न **नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)**लाई आवश्यक पहल गर्न निर्देशन दिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।>
प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग हवाई भाडाका विषयमा छलफल गरेको थियो।>
छलफलका क्रममा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने तथा उपलब्ध भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री तथा वितरण प्लेटफर्ममा स्पष्ट सूचना प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।>
चाडपर्वको समयमा विशेषगरी काठमाडौं–विराटनगर, काठमाडौं–भद्रपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–धनगढीलगायत आन्तरिक गन्तव्यमा हवाई टिकटको माग बढ्ने गरेको छ। माग बढेसँगै टिकटको मूल्य पनि बढ्ने गरेको भन्दै यात्रुहरूले गुनासो गर्दै आएका छन्।>
क्यान र वायुसेवा कम्पनीबीच भएको छलफलपछि यात्रुले उपलब्ध टिकटको मूल्य र स्वीकृत भाडादरबारे सहज रूपमा जानकारी पाउने तथा सम्भव भएसम्म सस्तो दरमा टिकट उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हुने अपेक्षा गरिएको छ।>
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला हवाई भाडालाई व्यवस्थित र यात्रुमैत्री बनाउन सरकार तथा नियामक निकायले चासो बढाएको हो।>
>>