काठमाडौं । सरकार सञ्चालन र नीतिगत विषयमा नागरिकले आफ्ना कुरा सिधै राख्न पाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको संवाद कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने भएका छन्।>
रास्वपाले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङ सोमबार पार्टीको केन्द्रीय कार्यालयमा नागरिकसँग संवादमा सहभागी हुने भएका हुन्।>
सोमबार साँझ ५ बजेपछि हुने कार्यक्रममा सहभागी नागरिकले आफूले भोगिरहेका समस्या, सरकारी सेवासँग जोडिएका गुनासा, विभिन्न सुझाव तथा सरकारबाट गर्नुपर्ने अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष राख्न पाउनेछन्।>
रास्वपाका अनुसार कार्यक्रम केवल गुनासा सुन्ने औपचारिकतामा सीमित हुने छैन। नागरिकले उठाएका विषयलाई त्यसपछि मन्त्री, सांसद र पार्टीको केन्द्रीय नेतृत्वबीच हुने छलफलमा समेत लैजाने तयारी छ।>
कार्यक्रमको पहिलो चरणमा नागरिकसँग प्रत्यक्ष संवाद हुनेछ। दोस्रो चरणमा भने नागरिकबाट आएका सुझाव तथा गुनासामाथि मन्त्री, सांसद र पार्टी नेतृत्वबीच समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।>
पार्टीले पछिल्लो समय नागरिक र नेतृत्वबीचको दूरी घटाउने उद्देश्यसहित ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। नागरिकले आफ्ना कुरा नेतासम्म पुर्याउने मात्र नभई ती विषय नीति निर्माणको तहसम्म पुग्ने वातावरण बनाउन कार्यक्रमलाई निरन्तरता दिइएको रास्वपाको भनाइ छ।>>