काठमाडौं — भोटेकोशी बाढीपहिरोमा परी ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।>
प्राधिकरणले सोमबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ६३ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ जनाको शव फेला परेको छ।>
यसैगरी गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। फेला परेका शवमध्ये केहीमा पूर्ण शव नभई विभिन्न मानव अङ्गहरू मात्र समेत समावेश छन्।>
प्राधिकरणका अनुसार हालसम्म फेला परेका शवमध्ये ९८ जनाको सनाखत गरी परिवारलाई बुझाइसकिएको छ।>
नुवाकोट र रसुवामा हजारौँ सम्पर्कविहीन
बाढीपहिरोपछि अझै ४ हजार ९ सय १६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय रसुवाको विवरणअनुसार १ हजार ९ सय ६७ जना र नुवाकोटको विवरणअनुसार २ हजार ३ सय ४० जना नेपाली नागरिक सम्पर्कविहीन छन्।>
यसका अतिरिक्त करिब १ सय सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ९ जना विदेशी नागरिक समेत अझै सम्पर्कमा आउन नसकेको प्राधिकरणले जनाएको छ।>
यद्यपि सम्पर्कविहीनको सूचीमा पहिचान हुन बाँकी शव तथा यसअघि नै उद्धार भइसकेका व्यक्तिहरू समेत परेको हुनसक्ने भएकाले विवरण रुजु गर्ने काम तीव्र रूपमा भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ।>
१३ हजारभन्दा बढीको उद्धार
प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई अस्थायी आश्रय दिन विभिन्न स्थानमा ३१ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ।>
ती केन्द्रमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्। नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६ सय ५१, रसुवामा ६ सय ६९ र धादिङमा २ सय १३ जना रहेका छन्।>
६ हजार ६ सय ७२ घाइतेको उपचार
बाढीपहिरोमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।>
उपचार गरिएकामध्ये नेपाली सेनाले ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरी बलले २ हजार ९ सय ७० जनाको उपचार गरेको छ।>
विभिन्न अस्पतालमा उपचार गराएका ३ सय २३ जनामध्ये २ सय २८ जना निको भएर डिस्चार्ज भइसकेका छन्।>
इन्धन र ग्यासको व्यवस्था
प्रभावित क्षेत्रमा इन्धनको उपलब्धता सहज बनाउन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले जनाएको छ।>
त्यस्तै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ।>
विद्युत् र सञ्चार सेवा पुनः सञ्चालनमा
बाढीपहिरोबाट प्रभावित क्षेत्रमा अवरुद्ध आधारभूत पूर्वाधार सञ्चालन गर्ने काम तीव्र पारिएको छ। प्राधिकरणका अनुसार धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ।>
सञ्चार सेवातर्फ नेपाल टेलिकमका कुल १२० टावरमध्ये ११७ वटा र एनसेलका ७८ टावरमध्ये ७६ वटा सञ्चालनमा आइसकेका छन्।>
१५० जना मनोसामाजिक परामर्शदाता परिचालन
विपद्बाट विस्थापित तथा प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना मनोसामाजिक परामर्शदाता प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।>
विपद्पछि आफन्त गुमाएका, बेपत्ता भएका परिवार तथा विस्थापित नागरिकमा देखिन सक्ने मानसिक तनाव र मनोसामाजिक समस्यालाई सम्बोधन गर्न परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको प्राधिकरणको भनाइ छ।>
बाढीपहिरोपछि उद्धार, उपचार, राहत वितरण तथा अवरुद्ध पूर्वाधार पुनः सञ्चालनलाई प्राथमिकतामा राखिएको छ। साथै बेपत्ता नागरिकको खोजी तथा फेला परेका शवको पहिचान गर्ने कामलाई समेत तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।>
>>