२५ भदौ, सिरहा । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रिय स्वाधीनताको दृष्टिले गम्भीर संकटमा रहेको बताएका छन्।>
बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र जनताको अधिकारमाथिसमेत संकट उत्पन्न भएको दाबी गरे। गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनपछि देशको राजनीतिक परिस्थिति थप जटिल बनेको उनको भनाइ थियो।>
उनले नेपाल राष्ट्रको भविष्यबारे नै जनतामा चिन्ता बढेको उल्लेख गर्दै देशमा अर्को राजनीतिक दुर्घटना हुनसक्ने आशंकासमेत व्यक्त गरे। उनले नेता तथा कार्यकर्तालाई वर्तमान परिस्थितिको गम्भीर विश्लेषण गर्न आग्रह गरे।>
भदौ २४ पछि संविधानको मर्मविपरीत सरकार गठन गरिएको र संसद् विघटन गर्न नहुने अवस्थामा संसद् विघटन गरिएको आरोप प्रचण्डले लगाए। नेपालको राजनीतिक भविष्यबारे विदेशी शक्तिहरूले निर्णय गर्न थालेको दाबी गर्दै उनले यही कारण आफूहरूले भदौ २४ लाई ‘कालो दिन’ भन्दै आएको बताए।>
‘नेपाल नेपाली जनताको हातमा फर्काउनुपर्छ’ भन्ने धारणा राख्दै प्रचण्डले जनताको अधिकार पुनर्स्थापित गर्न ठूलो राजनीतिक मोर्चा र आन्दोलन आवश्यक रहेको बताए।>
उनले नेपालको संविधान अहिले ‘भेन्टिलेटरमा राखिएको बिरामी’ जस्तो अवस्थामा पुगेको टिप्पणी गरे। संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनको रक्षा अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ थियो।>
यसका लागि वामपन्थी शक्तिहरूले अभियानको नेतृत्व लिनुपर्ने प्रचण्डले बताए। नेकपा एमाले र नेकपा मसालसँग कार्यगत एकताको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले अन्य वामपन्थी दलसँग पनि एकताका लागि छलफल भइरहेको बताए।>
त्यस्तै, शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका शक्तिहरूसँग पुनः सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेससँग पनि संवाद भइरहेको बताए।>
प्रचण्डले वर्तमान राजनीतिक संकटको समाधानका लागि संविधान र जनताको अधिकारको पक्षमा राजनीतिक शक्तिहरूबीच व्यापक सहकार्य आवश्यक रहेकोमा जोड दिए।>
>>