काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।>
जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध युवाहरू सडकमा उत्रिएको स्मरण गरेका छन्।>
उनले परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताले रगत बगाउनुपरेको अवस्थालाई आफूहरूका लागि सबैभन्दा पीडादायी क्षण भएको बताएका छन्।>
“एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,” लामिछानेले वक्तव्यमा भनेका छन्।>
भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्। आगामी दिनमा परिवर्तनका लागि कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामनासमेत उनले गरेका छन्।>
नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाहरूलाई उनले ‘अमर सहिद’को संज्ञा दिएका छन्। आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन्।>
लामिछानेले राजनीतिमा चासो नराख्ने भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताएका छन्। जेनजी युवाहरूले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारीमा अहिले रास्वपा उभिएको उनको भनाइ छ।>
“हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,” उनले भनेका छन्।>
उनले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक नेतृत्वका कामको निरन्तर खबरदारी र निर्मम समीक्षा गर्न आग्रह गरेका छन्। तर, नागरिकको मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले अपिल गरेका छन्।>
लामिछानेले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।>
उनले जेनजी आन्दोलनले देखाएको मार्गबाट रास्वपा विचलित नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।>
“जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,” लामिछानेले वक्तव्यमा भनेका छन्।>
>>