काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएका अछामका दीपक बोहराको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग माग गरेकी छन्।>
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले अछामको मेल्लेख गाउँपालिका–६, सोडसा कालापातालका बोहरा रोजगारीका लागि केही समयअघि मलेसिया गएको बताइन्। करिब एक साताअघि भएको गम्भीर सडक दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको सांसद संग्रौलाले जानकारी दिइन्।>
उनले मृतकका आमाबुबा छोराको शव अन्तिम संस्कारका लागि नेपाल ल्याइने प्रतीक्षामा रहेको बताइन्। परिवारले कम्तीमा अन्तिम संस्कारका लागि भए पनि शव स्वदेश ल्याइदिन सरकारसँग आग्रह गरिरहेको उनले उल्लेख गरिन्।>
बोहरा कार्यरत कम्पनीले शव नेपाल पठाउने प्रतिबद्धता जनाएको भए पनि आवश्यक प्रक्रिया छिटो पूरा गर्न परराष्ट्र मन्त्रालय, मलेसियास्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सांसद संग्रौलाको भनाइ छ।>
सांसद संग्रौलाले सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै मृतक बोहराको शव यथाशीघ्र नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गर्ने आवश्यक व्यवस्था मिलाउन माग गरेकी छन्।>
>>