काठमाडौं, २६ असोज। संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।>
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जबराले नेपाल र बेलायतबीचको सम्बन्धबाट दुवै देशका जनताका लागि थप अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य रहेको बताएका हुन्।>
उनले राजदूतको जिम्मेवारी विनम्रता, धैर्य र निरन्तर सिक्ने इच्छाका साथ ग्रहण गर्ने धारणा राखे। राजदूतमा नियुक्त भएमा परराष्ट्र मन्त्रालय, नेपाल सरकार तथा लन्डनस्थित नेपाली दूतावासको टोलीसँग निकट समन्वयमा रहेर काम गर्ने उनले बताए।>
जबराले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गरिमापूर्ण रूपमा प्रतिनिधित्व गर्ने तथा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने उल्लेख गरे।>
सैनिक सेवामा ४२ वर्ष बिताइसकेपछि पनि नेपालका लागि योगदान गर्न बाँकी रहेको आफूले महसुस गरेको उनको भनाइ थियो। सैनिक सेवामा हासिल गरेको लामो अनुभवलाई कूटनीतिक क्षेत्रमा उपयोग गर्दै देशको हितमा योगदान गर्न चाहेको उनले बताए।>
नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउँदै पारस्परिक सहयोग र अवसर विस्तार गर्न आफूले भूमिका निर्वाह गर्ने जबराले कार्ययोजनामा उल्लेख गरेका छन्।>
>>