काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्।>
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।>
उनले कांग्रेसले आफूलाई परिवर्तन गर्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने बताए। “बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,” उनले भने।>
देशको पछिल्लो अवस्थाका कारण महाधिवेशनलाई केवल उत्सवका रूपमा मनाउन सहज नभएको थापाको भनाइ थियो। रसुवामा आएको बाढीपहिरोबाट ठूलो मानवीय क्षति भएको स्मरण गर्दै उनले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए।>
थापाले कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रमबाट गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समय एउटै नेतृत्व, पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिका कारण जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा विकास भएको उनको भनाइ थियो।>
उनले राजनीतिक अवस्थालाई ‘म्युजिकल चियर’सँग तुलना गर्दै प्रधानमन्त्री र मन्त्री बन्ने तथा पुनः त्यही पदमा दोहोरिने प्रवृत्तिले जनताको विश्वास कमजोर बनाएको बताए। भदौ २३ र २४ का घटनालाई पनि उनले लामो समयदेखि बढ्दै गएको राजनीतिक असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरे।>
थापाका अनुसार कांग्रेसले त्यसपछि आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछिको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको थियो। उनले निर्वाचनमा हारलाई निराशाको कारण नबनाई नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।>
राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। लामो राजनीतिक संघर्ष र द्वन्द्वपछि पनि रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसकेको तथा युवाको विदेश पलायन रोक्न नसकिएको विषयमा उनले प्रश्न उठाए।>
“किन रोजगारी भएन? युवा किन पलायन भयो?” भन्दै थापाले अब यस्ता प्रश्नको जवाफ खोजेर मात्र कांग्रेस अघि बढ्नुपर्ने बताए। युवालाई स्वदेशमै रोजगारी र अवसर दिने, गाउँलाई उत्पादन तथा आर्थिक गतिविधिसँग जोड्ने र अर्थतन्त्रलाई गतिशील बनाउने स्पष्ट नीति आवश्यक रहेको उनले बताए।>
थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए। राजनीतिक अधिकार सुनिश्चित गरेपछि त्यसलाई नागरिकले अनुभूति गर्ने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनको भनाइ थियो।>
“डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ। पुल ढल्यो भने विश्वास ढल्छ,” उनले भने।>
कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच पनि पुलको काम गर्नुपर्ने थापाले बताए। नयाँ पुस्ताको आकांक्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।>
उनले कांग्रेसले सिद्धान्तमा सम्झौता गरेर तत्कालीन राजनीतिक लाभ खोज्न नहुने बताए। निर्वाचनमा हारजितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिए।>
“हामी लालुपाते होइनौँ, हामी प्रस्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ,” थापाले भने।>
उनले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। निजी क्षेत्रलाई कर उठाउने स्रोतका रूपमा मात्र नभई उत्पादन, रोजगारी र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।>
खुलामञ्चलाई पनि उनले जनतासँग संवाद गर्ने राजनीतिक संस्कारसँग जोडेर व्याख्या गरे। काठमाडौंको खुलामञ्च नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै उनले नागरिकले आफ्ना प्रश्न राख्न पाउने खुला ठाउँ आवश्यक रहेको बताए।>
“नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्। यो देशलाई खुलामञ्च चाहिएको छ,” उनले भने।>
संसद पनि जनताका प्रश्न र आवाजका लागि खुला हुनुपर्ने थापाको भनाइ थियो। पार्टीभित्र नेतृत्वलाई प्रश्न गर्ने र फरक मत राख्ने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए।>
थापाले पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिको प्रसंगसमेत उठाए। महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखिएको भए पनि उनी सहभागी हुन नआएको उल्लेख गर्दै उनले पार्टीले यस विषयमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए।>
कांग्रेसबाट बाहिरिएका नेता–कार्यकर्ताको विषयमा पनि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको थापाले बताए। पार्टी छाडेर गएका नेताहरूका विषयमा अब स्पष्ट रूपमा कुरा गर्नुपर्ने उनको भनाइ थियो।>
त्यस्तै, कांग्रेसका सांसदहरूले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिएर संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने थापाले बताए। सांसदहरूलाई प्रशिक्षण दिएर जनताको आवाज उठाउन, सरकारलाई प्रश्न गर्न र नीतिनिर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न तयार पारिएको उनले बताए।>
थापाले कांग्रेस निराशा र निन्दाको राजनीतिबाट बाहि>
>>