काठमाडौं — हालै आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। उपभोक्ताले आफूले नियमित प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाउने अवस्था आएपछि सरकारले वैकल्पिक व्यवस्था अघि सारेको छ।>
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।>
नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा उही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्। बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गरी उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।>
हालका लागि यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र लागू गरिएको छ। यसको तत्काल र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।>
मन्त्रालयका अनुसार विषम परिस्थितिको फाइदा उठाउँदै उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ।>
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय भएर काम गर्न निर्देशन दिँदै मन्त्री यादवले उपभोक्तालाई आवश्यक सेवा उपलब्ध गराउन कुनै प्रकारको लापरबाही नगर्नसमेत सचेत गराएकी छन्।>
>>