भोजपुर — नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन सभापतिको उम्मेदवारका विषयमा सहमति जुट्न नसकेपछि रोकिएको छ।>
बुधबार भोजपुर नगरपालिकाको हलमा आयोजित नगर अधिवेशनमा नगर सभापतिको उम्मेदवारबारे विवाद भएपछि अधिवेशन अघि बढ्न नसकेको हो।>
भोजपुर नगरपालिकाका मेयरसमेत रहेका कांग्रेस नेता कैलाश आलेले नगर सभापतिका लागि अशोक राईसहित तीन जनाको नाम अघि सारेका थिए। तर भोजपुर नगरपालिका–३ र ४ का वडा कार्यसमितिले असहमति जनाउँदै अधिवेशन बहिष्कार गरेपछि कार्यक्रम रोकिएको हो।>
कांग्रेसका एक सहभागी कार्यकर्ताका अनुसार आलेले आफू निकटका वडा नम्बर १२ का अशोक राईलाई नगर सभापति बनाउन खोजेपछि वडा नम्बर ३ र ४ का कार्यसमितिले असहमति जनाएका थिए।>
वडा नम्बर ४ बाट प्रेम भण्डारी नगर सभापतिको उम्मेदवारका रूपमा अघि बढेका थिए। आलेले आफू निकट उम्मेदवारलाई अघि बढाउन दबाब दिएको भन्दै वडा नम्बर ३ का सभापति डिल्ली थापा र वडा नम्बर ४ का सभापति कुमार राउतसहितका प्रतिनिधिले अधिवेशन बहिष्कार गरेको बताइएको छ।>
अधिवेशनमा सहभागी एक नेताले आलेले अधिवेशनस्थलमा बहिष्कार गरे पनि केही नहुने भन्दै आफूहरूमाथि दबाब दिएको आरोप लगाए। त्यसको विरोधस्वरूप दुवै वडाका प्रतिनिधिले अधिवेशन बहिष्कार गरेको उनको भनाइ छ।>
अन्य १० वटा वडा कार्यसमिति भने अधिवेशन अघि बढाउन तयार भए पनि दुई वडाले बहिष्कार गरेपछि कार्यक्रम रोकिएको हो।>
बिहीबार सहमति जुट्न सकेमा मात्र नगर अधिवेशनलाई पुनः अघि बढाउने तयारी रहेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।>
>>