मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |
मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ असोज २०८३, आइतबार

बूढीगण्डकीमा बाढी आउनुअघि जमिन हल्लिएको संकेत, भूकम्पको रेकर्ड भने छैन

Nepal Akhbar
अमेरिकाको अर्थस्कोप प्रणालीमा ककनी स्टेसनले कम्पन रेकर्ड गरेको देखिए पनि राष्ट्रिय भूकम्प मापन केन्द्रमा अभिलेख छैन, पहिरोका कारण कम्पन भएको हुन सक्ने विज्ञको अनुमान

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि माथिल्लो क्षेत्रका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन्। अमेरिकाको अर्थस्कोप कन्सोर्टियमको भूकम्प अनुगमन प्रणालीमा पनि नेपालस्थित ककनी स्टेसनले जमिनको कम्पनसम्बन्धी तरङ्ग रेकर्ड गरेको देखिएको छ।

आईआरआईएस (IRIS) भनेर चिनिने संस्थाको अर्थस्कोप प्रणालीले विश्वका विभिन्न स्थानमा जडान गरिएका सिस्मोमिटरबाट प्राप्त जमिनको कम्पनसम्बन्धी तथ्यांक देखाउँछ। नेपालका भूकम्प मापन उपकरणहरू पनि यस प्रणालीमा जोडिएकाले यहाँका कम्पनसम्बन्धी रेकर्डसमेत हेर्न सकिन्छ।

उक्त प्रणालीमा देखिएको विवरणअनुसार विश्व समन्वित समय (यूटीसी) शनिबार राति १०:४० देखि १०:४५ बजेको बीचमा जमिनको कम्पन संकेत देखिएको छ। यो नेपाली समयअनुसार आइतबार बिहान करिब ४:२५ देखि ४:३० बजेको समय हो।

यसले बूढीगण्डकीमा बाढी आउनुअघि जमिनमा कम्पन भएको हुन सक्ने संकेत गरे पनि त्यसको वास्तविक कारण भने स्पष्ट भइसकेको छैन। कम्पन चुमनुब्री क्षेत्रमा गएको पहिरोका कारण उत्पन्न भएको हो वा कम्पनपछि पहिरो गएको हो भन्नेबारे थप अध्ययन आवश्यक छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रमा छैन रेकर्ड

ककनी स्टेसनमा कम्पनको संकेत देखिए पनि काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेखमा उक्त अवधिमा भूकम्प रेकर्ड भएको छैन।

केन्द्रको भूकम्प मापन तथा साइस्मिक हजार्ड मूल्यांकन शाखाका वरिष्ठ भूकम्पविद् डा. मुकुन्द भट्टराईले पछिल्लो २४ घण्टामा नेपालमा भूकम्पको रेकर्ड नभएको जानकारी दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पनि यस विषयमा भूकम्प मापन केन्द्रका विज्ञहरूसँग बुझ्दा गोरखा वा आसपासको क्षेत्रमा नयाँ भूकम्प रेकर्ड नभएको जानकारी पाएको बताएका छन्।

‘उहाँहरूले पहिरोको आवाजले कम्पन भएको हुनसक्छ भन्नुभएको छ,’ डा. उप्रेतीले बताएका छन्।

अर्थस्कोपमा देखिएको तरङ्ग के हो?

ककनी स्टेसनमा कम्पन देखिए पनि राष्ट्रिय भूकम्प मापन केन्द्रमा भूकम्पको अभिलेख नहुनुले उक्त तरङ्गको स्रोतबारे प्रश्न उठाएको छ। भूगर्भविद्हरूका अनुसार पहिरो, चट्टान खस्ने घटना वा बाढीको तीव्र बहावले पनि जमिनमा कम्पन उत्पन्न गर्न सक्छ। यस्ता कम्पन सिस्मोमिटरमा रेकर्ड भए पनि तिनलाई अनिवार्य रूपमा भूकम्पका रूपमा वर्गीकरण गरिँदैन।

यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका बेला पनि नेपाल–तिब्बत सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प मापन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। त्यसबेला भूकम्पका कारण पहिरो खसेर नदीको मुहान थुनिएको हुन सक्ने अनुमान गरिएको थियो। तर पछि उक्त तरङ्ग हिमनदीको एउटा भाग जमिनमा बज्रिँदा उत्पन्न भएको पत्ता लागेको विवरण दिइएको थियो।

गोरखाको उत्तरी भेगमा अहिले महसुस गरिएको कम्पन पनि त्यस्तै प्रकृतिको हुन सक्ने भूगर्भविद् डा. लोकविजय अधिकारीको भनाइ छ।

‘गोरखा वा आसपास पछिल्लोपटक भूकम्प रेकर्ड भएको छैन। जमिन हल्लिएको महसुस हुनुमा भोटेकोशीको जस्तै हुनसक्छ,’ उनले बताएका छन्। यसबारे विस्तृत अध्ययन हुन बाँकी रहेको उनको भनाइ छ।

पहिरो र बाढीले पनि उत्पन्न गर्न सक्छन् भूकम्पीय तरङ्ग

भूकम्प मापन गर्ने उपकरण जमिनको विस्थापन र कम्पन मापन गर्न बनाइएका अत्यन्त संवेदनशील यन्त्र हुन्। ठूलो परिमाणमा माटो, ढुङ्गा वा हिउँ भीरबाट खस्दा अथवा बाँध फुटेर नदीमा तीव्र बहाव उत्पन्न हुँदा जमिनमा कम्पन पैदा हुन सक्छ।

यस्ता घटनाबाट उत्पन्न तरङ्ग नजिकै रहेका भूकम्प मापन केन्द्रले अभिलेख गर्न सक्छन्। त्यसैले उपकरणमा तरङ्ग देखिनु मात्रै कुनै क्षेत्रमा भूकम्प गएको प्रमाण हुँदैन।

भूगर्भशास्त्रमा यस प्रकारका घटनाको अध्ययनलाई वातावरणीय भूकम्प विज्ञान (Environmental Seismology) भनिन्छ। यस विधिबाट पहिरो गएको समय, कम्पनको अवधि र पहिरोमा खसेको पदार्थको परिमाणसमेत अनुमान गर्न सकिन्छ।

बूढीगण्डकीमा आएको आकस्मिक बाढी र त्यसअघि देखिएको कम्पनबीच सम्बन्ध छ वा छैन भन्ने निष्कर्षमा पुग्न भने थप वैज्ञानिक अध्ययन र प्राविधिक विश्लेषण आवश्यक देखिन्छ।


प्रतिक्रिया

सम्बन्धित समाचार