काठमाडौं, २६ भदौ । विपद्को समयमा खाना पकाउने ग्यासमा तोकिएको मूल्यभन्दा बढी रकम असुली बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ।>
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर उपभोक्तामाथि अनुचित आर्थिक भार पार्ने कार्य रोक्न र त्यस्ता व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो।>
महासंघका अनुसार लामो समयदेखि मुलुकमा ग्यास आपूर्तिमा समस्या रहँदै आएको अवस्थामा भोटेकोशीमा आएको भीषण बाढीले समस्या थप गम्भीर बनाएको छ। बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि राजधानी जोड्ने राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको ग्यास आपूर्ति प्रणालीमा समेत ठूलो असर परेको महासंघले जनाएको छ।>
यस्तो कठिन परिस्थितिको फाइदा उठाउँदै ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुमा अनुचित मूल्य असुल्नु दण्डनीय कार्य भएको महासंघले स्पष्ट पारेको छ।>
कार्यवाहक अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत महासंघले देशभरका ग्यास विक्रेतालाई प्राप्त ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न अपिल गरेको छ।>
महासंघले विपद्को समयमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको साझा दायित्व भएको जनाएको छ। साथै, आपूर्ति प्रणालीलाई नियमित राख्न सम्भव भएसम्म सबै पक्षले आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिएको छ।>
>>