काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुरुङमा फसेका नागरिकको जीवनरक्षाका लागि तत्काल सम्पूर्ण राज्यशक्ति र आवश्यक जनशक्ति परिचालन गर्न गृहमन्त्री सुधन गुरुङलाई आग्रह गरेका छन्।>
महरले शुक्रबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले उद्धार अभियानको प्रत्यक्ष कमाण्ड सम्हाल्दै सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका हुन्।>
उनले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन तथा सम्बन्धित जलविद्युत् आयोजना र प्राविधिक जनशक्तिसँग समन्वय गरेर उद्धार अभियानलाई तीव्रता दिन पनि सुझाव दिएका छन्।>
‘गृहमन्त्रीज्यू, प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले भनेका छन्।>
महरले गृहमन्त्रीले उद्धारस्थलमा अक्सिजन सिलिन्डर बोक्नेभन्दा उद्धार अभियानको समन्वय, आवश्यक निर्णय र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।>
‘तपाईंको काम त्यो अक्सिजन सिलिन्डर बोक्ने होइन। तपाईंले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।>
उनले सामाजिक सञ्जालमा भाइरल हुने गतिविधिभन्दा सुरुङमा फसेका नागरिकको जीवन रक्षा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।>
महरका अनुसार अक्सिजन सिलिन्डर बोक्ने लगायतका प्रत्यक्ष उद्धारसम्बन्धी काममा सुरक्षाकर्मी परिचालन गर्न सकिन्छ। गृहमन्त्रीले भने त्यसभन्दा महत्वपूर्ण रूपमा उद्धार अभियानको नेतृत्व, समन्वय र व्यवस्थापनमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।>
‘त्यो सिलिन्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरले भनेका छन्।>
सुरुङमा फसेका नागरिकको उद्धारलाई प्रभावकारी बनाउन राज्यका सबै उपलब्ध स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्नुपर्ने उनको आग्रह छ।>
>>