काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा बाढी प्रभावितको पुनर्स्थापना, कर्मचारीको बढुवा सिफारिस तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने बताइएको छ।>
बैठकमा प्रशासन र प्राविधिक सेवातर्फका सहसचिवलाई सचिवमा बढुवा गर्ने विषयसमेत छलफल हुने स्रोतले जनाएको छ। सरकारले प्रशासन र प्राविधिक दुवै समूहबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ।>
यसअघि बढुवा समितिले प्रशासन सेवातर्फका सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जय नारायण आचार्यलाई सचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ।>
त्यस्तै, प्राविधिक सेवातर्फ डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठलाई पनि सचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।>
मन्त्रिपरिषद्ले सिफारिस गरिएका नाममध्ये प्रशासन र प्राविधिक सेवाबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।>
बैठकमा संघीय निजामती सेवा विधेयक तथा बाढीपीडितको पुनर्स्थापना र राहतसँग सम्बन्धित विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।>
>>