रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।>
अदालतको फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।>
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल ७ वर्ष २ महिना २७ दिन कैद सजाय तथा २ लाख ७३ हजार ७७७ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो।>
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकाविरुद्ध जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, बाल शोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा रहेका छन्।>
प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ जना प्रतिवादीलाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिए।>
>>