२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण नरहेको टिप्पणी गरेका छन्।>
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र मन नपर्ने आफ्नो बुझाइ रहेको बताएका हुन्।>
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ थापाले भने, ‘अहिलेको प्रधानमन्त्री, मेरो आफ्नो बुझाइमा, हेट्स प्राइभेट सेक्टर।’>
आफूले प्रधानमन्त्री शाहबारे अनुमानका आधारमा टिप्पणी नगरेको पनि थापाले स्पष्ट पारे। उनका अनुसार प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र केही निर्णयका आधारमा यस्तो धारणा बनाइएको हो।>
‘मैले अनुमानको आधारमा भनेको होइन,’ थापाले भने, ‘उहाँका पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू...।’>
थापाले आफ्नो भनाइ पुष्टि गर्न सरकारले दुग्ध विकास संस्था, हेटौँडा कपडा कारखाना र नेपाल औषधि लिमिटेडका सम्बन्धमा गरेका निर्णयलाई उदाहरणका रूपमा प्रस्तुत गरे।>
यद्यपि, ती संस्थाहरू सञ्चालनमा आएर मुनाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहेको उनले बताए। ‘ती कारखाना चलुन्, मुनाफा कमाऊन्, मेरो शुभेच्छा छ,’ थापाले भने, ‘त्यसका बारेमा टिप्पणी होइन।’>
उनले सरकारी संस्थान सञ्चालनसम्बन्धी निर्णय र त्यसबाट निजी क्षेत्रप्रति देखिएको दृष्टिकोणका आधारमा प्रधानमन्त्रीबारे आफ्नो धारणा सार्वजनिक गरेको बताएका छन्।>
>>