विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको छ।>
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।>
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरीसहित भारी वर्षा हुनसक्ने भएकाले सडक तथा अन्य पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण तथा तत्काल मर्मतका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले जानकारी दिए।>
वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपद्का समयमा उद्धार तथा राहतका काम प्रभावकारी बनाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिइएको उनले बताए।>
मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरण तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन हुनुका साथै मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएका छन्।>
सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै मन्त्री आचार्यले कोशी प्रदेशका आम नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेका छन्।>
>>