काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज थामी सम्पर्कविहीन भएका छन्।>
नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य थामीसँग सम्पर्क हुन नसकेको जनाएको छ। थामी सम्पर्कविहीन भएको जानकारी उनको परिवारले दिएको महासंघले जनाएको छ।>
त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–७ निवासी पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि बाढीपछि सम्पर्कविहीन भएको नेपाल पत्रकार महासंघले जनाएको छ।>
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीका कारण प्रभावित तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि सम्बन्धित निकायहरूले प्रयास जारी राखेका छन्।>
नेपाल पत्रकार महासंघले बाढीबाट प्रभावित पत्रकार तथा सर्वसाधारणको खोजी, उद्धार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।>
>>