नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१, सोमनाथमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी संरचना निर्माण भइरहेको पाइएको छ।>
वनको जग्गा कब्जा गरी सुनवल उद्योग वाणिज्य संघले भवन निर्माण गरिरहेको स्थानीयको आरोप छ। सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण रोक्न सरकारले निर्देशन दिएको अवस्थामा डिभिजन वन कार्यालय पश्चिम नवलपरासी र सुनवल नगरपालिकाको मिलेमतोमा वन क्षेत्रमा संरचना निर्माण भइरहेको स्थानीयको दाबी छ।>
केही समयअघि सरकारले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अतिक्रमित जग्गाको लगत पठाउन मातहतका निकायलाई निर्देशन दिएको थियो। तर सोमनाथमा भने वन क्षेत्रमै संरचना निर्माण भइरहेको स्थानीय बताउँछन्।>
सुनवल उद्योग वाणिज्य संघजस्तो नाफामूलक संस्थाहरूको छाता संगठनले विभिन्न राजनीतिक दल, डिभिजन वन कार्यालय र स्थानीय तहको सहयोग तथा मिलेमतोमा वन क्षेत्रको जग्गामा भवन निर्माण गरिरहेको स्थानीयको आरोप छ।>
तर सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले भवन निर्माण भइरहेको विषयमा आफूलाई जानकारी नभएको बताएकी छन्।>
‘सुनवल उद्योग वाणिज्य संघले भवन निर्माण गर्ने कुरा चलेको थियो तर मलाई निर्माणकार्य अघि बढेको विषयमा कुनै जानकारी छैन। म यस विषयमा बुझ्ने प्रयास गर्छु,’ नगरप्रमुख अर्यालले भनिन्।>
तर रोचक पक्ष के छ भने सुनवल नगरपालिकाले नै २०८३ भदौ १ गते सोही वन क्षेत्रको जग्गामा भवन निर्माण गर्ने भन्दै ठेक्का आह्वान गरेको थियो। बोलपत्र सूचनाअनुसार उक्त भवन निर्माणमा नगरपालिकाको करिब १३ लाख रुपैयाँ लगानी हुने देखिन्छ।>
अतिक्रमण हटाउन सूचना, तर वनमै संरचना>
अतिक्रमित वन क्षेत्र संरक्षण गर्ने उद्देश्यले अवैधानिक रूपमा कब्जा गरिएका जग्गा तथा त्यहाँ बनेका संरचना हटाउन डिभिजन वन कार्यालय पश्चिम नवलपरासी र सुनवल नगरपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेका छन्।>
वन क्षेत्र अतिक्रमण रोक्न तथा अतिक्रमित संरचना हटाउनुपर्ने जिम्मेवारीमा रहेका निकायले नै त्यही क्षेत्रमा संरचना निर्माणलाई सहयोग गरेको देखिनु विरोधाभासपूर्ण रहेको स्थानीयको भनाइ छ।>
वन कार्यालयकै मातहत रहेको क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण भइरहँदा डिभिजन वन कार्यालय भने यसबारे अनभिज्ञ देखिएको छ।>
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीले घटनाबारे आफूलाई जानकारी नभएको बताए।>
‘म यस विषयमा अनभिज्ञ छु। अहिले नै कर्मचारी पठाएर बुझ्नेछु,’ क्षेत्रीले भने।>
सरकारले सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण नियन्त्रण गर्ने नीति अघि सारे पनि स्थानीय तह र वन कार्यालयकै संलग्नता वा बेवास्तामा वन क्षेत्रमा संरचना निर्माण भइरहेको आरोप लागेपछि घटनाले सार्वजनिक जग्गा संरक्षणमा सरकारी निकायको भूमिकामाथि प्रश्न उठाएको छ।>
>>