नारायणगढ, २८ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालयले विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्ने भएको छ।>
वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि भिरको स्लोप निर्माण गरी ‘नेलिङ’ प्रविधिबाट पहिरो रोकथाम गर्ने तयारी गरिएको हो।>
सडक डिभिजन भरतपुरका अनुसार नेलिङसँगै पहिरो प्रभावित क्षेत्रमा जमेको तथा रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिनेछ।>
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ।>
उनका अनुसार करिब सात दिनदेखि ठूला ढुङ्गा काटेर हटाउने काम भइरहेको छ। कठिन स्थानमा सीमित जनशक्तिबाट काम भइरहेको र ठूला ढुङ्गा हटाएपछि थप जनशक्ति तथा उपकरण परिचालन गरेर काम अघि बढाइनेछ।>
पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने इन्जिनियर लामिछानेले बताए। यस प्रविधिमा भिरको स्लोपलाई किला वा रडको माध्यमबाट बलियो बनाइनेछ।>
स्लोपको प्रकृतिअनुसार द्वि–आयामी तथा त्रि–आयामी नेटको प्रयोगसँगै बायोइन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामका उपाय अवलम्बन गरिने उनले जानकारी दिए।>
हाल पहिरो जाने भिर काटेर ढुङ्गा हटाउँदै स्लोप बनाउने काम भइरहेको छ। उक्त काम सम्पन्न भएपछि सो क्षेत्रमा नेलिङ प्रविधि प्रयोग गरिनेछ।>
पहिरो प्रभावित क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई थप कमजोर बनाउने भएकाले पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेनको समेत व्यवस्था गरिने भएको छ।>
इन्जिनियर लामिछानेका अनुसार एक महिनाभित्र नेलिङको काम सुरु गर्ने तयारी गरिएको छ। माथिबाट खस्ने ठूला ढुङ्गा हटाएपछि तत्काल सडक अवरुद्ध हुने अवस्था पनि कम हुने अपेक्षा गरिएको छ।>
यसैबीच, तुइलखोला क्षेत्रमा पहिरो रोकथाम तथा सडक सुरक्षाका लागि हाल सवारी आवागमनमा समय तालिका लागू गरिएको छ। बिहान ८:३० बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्र सवारी आवागमन खुला गरिँदै आएको छ।>
बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म भने उक्त सडकखण्डमा सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन्।>
>
>>