८ असोज, विराटनगर– विराटनगरको सेन्ट्रल मलमा खुद्रा पसल सञ्चालन गर्दै आएका एक चिनियाँ नागरिक पक्राउ परेका छन्।>
सूचना प्रविधि (आईटी) कम्पनीमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर विराटनगरमा ‘योनो मार्ट’ सञ्चालन गरेको आरोपमा चिनियाँ नागरिक जिङ्सियान सिएलाई प्रहरीले पक्राउ गरेको हो।>
बुधबार प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोली अनुगमनका लागि सेन्ट्रल मल पुगेको थियो। अनुगमनका क्रममा चिनियाँ नागरिकले टोलीलाई अवरोध गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।>
मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनले भिसाको उद्देश्यसमेत दुरुपयोग गरेको देखिएको छ। उनका अनुसार मार्ट नेपाली नागरिकको नाममा दर्ता भए पनि सञ्चालन भने चिनियाँ नागरिकले गर्दै आएका थिए।>
अनुगमनका क्रममा बिल छलेर व्यापार सञ्चालन भइरहेको पाइएको भन्दै प्रशासनले मार्टमा सिलबन्दीसमेत गरेको छ।>
नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार खुद्रा व्यापारमा विदेशी लगानी गर्न पाइँदैन। तर, चिनियाँ समूहले काठमाडौंमा सूचना प्रविधि कम्पनी दर्ता गरी विराटनगरमा घरायसी सामग्रीको खुद्रा व्यापार सञ्चालन गरेको पाइएको प्रहरीको भनाइ छ।>
प्रहरी स्रोतका अनुसार उक्त समूहले २०८२ कात्तिक २३ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ दर्ता गरेको थियो। वर्षमा २४ वटा सफ्टवेयर उत्पादन गर्ने दाबी गरिएको भए पनि कम्पनीले आईटीसम्बन्धी काम नगरी चीनबाट घरायसी सामान आयात गरी खुद्रा पसल सञ्चालन गर्दै आएको स्रोतको दाबी छ।>
विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालन भइरहेको ‘योनो मार्ट’ दोलखाको जिरीका धिरेन बिकको नाममा दर्ता रहेको छ। बिकलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको प्रहरीको दाबी छ।>
प्रहरीका अनुसार जिङ्सियानले सन् २०२६ जुलाई २२ मा बिजनेस भिसा लिएका थिए। उनी नेपाल आउजाउ गर्दै आएका थिए।>
पक्राउ परेका जिङ्सियानलाई थप अनुसन्धानका लागि अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख कटवालले जानकारी दिए।>
>>