काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) मा प्रयोग गरिएका विभिन्न उपकरणसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।>
पक्राउ पर्नेमा २५ वर्षीय काथराम नितिन रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा पक्राउ गरेको हो।>
प्रहरीका अनुसार नितिनलाई चितवनको भरतपुर महानगरपालिका–२, आँपटारीबाट पक्राउ गरिएको हो।>
प्रहरीले उनको साथबाट २६ थान मोबाइल, दुई थान ल्यापटप, ९५ थान सिमकार्ड, चार थान सीपीयू, एक थान इन्भर्टर, दुई थान ब्याट्री, छ थान यूएसबी, दुई थान राउटर तथा विभिन्न प्रकारका डेटा केबललगायत सामग्री बरामद गरेको जनाएको छ।>
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएका उपकरण तथा सामग्री अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) सञ्चालनमा प्रयोग गरिएको खुलेको केन्द्रीय समाचारकक्षले जनाएको छ।>
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।>
>>