क्यानबेरा, ४ असोज – नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा करिब १५ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग संकलन गरिएको छ।>
आर्ट साउन्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रममार्फत उक्त रकम संकलन गरिएको हो।>
क्यानबेराको टर्नरस्थित पोलिस ह्वाइट इगल क्लबमा आयोजित च्यारिटी कार्यक्रममा नेपाली समुदायसँगै अस्ट्रेलियाली नागरिक, सामाजिक अभियन्ता तथा कलाकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।>
प्रधानमन्त्री राहत कोषमा समेत रकम जम्मा गरिने
आयोजकका अनुसार संकलित रकममध्ये केही हिस्सा इमर्जेन्सी एक्सन एलायन्सको ‘नेपाल फ्लड डिजास्टर अपिल’मा र बाँकी रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।>
आर्ट साउन्ड एफएमका अध्यक्ष स्टिभ लिटलले मानवीय संकटका समयमा समुदायबीचको सहकार्य महत्वपूर्ण हुने बताए। समाचारका शीर्षकबाट विपद्का विषय हट्दै गए पनि नेपाली समुदायप्रतिको आफ्नो संस्थाको साथ र समर्थन निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे।>
जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण
कार्यक्रममा जलविज्ञ डा. दुर्गादत्त कँडेलले विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभावबारे चिन्ता व्यक्त गरे।>
संवेदनशील भौगोलिक अवस्थाका कारण नेपालले सामना गरिरहेका प्राकृतिक विपद्का चुनौतीबारे अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनले बताए।>
अर्थशास्त्री डा. कृष्ण हमालले विपद्को कठिन समयमा राहत संकलनका लागि ऐक्यबद्धता जनाउने अस्ट्रेलियाली तथा नेपाली समुदाय, स्वयंसेवक र आयोजकप्रति आभार व्यक्त गरे।>
सांगीतिक तथा नाटक प्रस्तुति
आश्मा बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियन ब्यान्ड ‘द डेभिल एन्ड द बनी’ र ‘द डेजी कलेक्टिभ’ले सांगीतिक प्रस्तुति दिएका थिए।>
नेपाली कलाकार शशांक अधिकारी, नवीन अधिकारी, उषा दवाडी र अर्णव सम्मान पौडेलले नेपालमा आएको बाढीपहिरोलाई विषयवस्तु बनाएर मर्मस्पर्शी नाटक प्रस्तुत गरेका थिए।>
यज्ञ अधिकारीले कविता वाचन तथा जिसस भण्डारीले बाँसुरीवादन प्रस्तुत गरेका थिए।>
कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि आर्ट साउन्ड एफएम तथा युट्युबमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो।>
>>